Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

२०५० सम्म विश्वको आधा मानव बस्तीमा पानी सकिँदै

२०५० सम्म विश्वको आधा मानव बस्तीमा पानी सकिँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १५, २०७८ सोमवार • १६:२७:३२ बजे
  • 760
    SHARES
  • २०५० सम्म विश्वको आधा मानव बस्तीमा पानी सकिँदै

    एक आकलनअनुसार २०५० सम्ममा विश्वको आधा मानव बस्ती यस्तो इलाकामा हुनेछ, जहाँ जल सङ्कट हुनेछ । यस समयसम्म दुनियाँको ३६ प्रतिशत सहरहरूमा पानी अभाव हुनेछ । 

    images


    केही महिनाअघिको कुरा हो । इरानमा अभूतपूर्व खडेरी देखियो । वर्षाको कमीका कारण यहाँका नदीहरू सुके । पानीको कमीका कारण पूरै देशमा ठूलो विरोध प्रदर्शन भयो । 

    वर्ष २०१९ मा भारतका सबैभन्दा ठूला सहरहरूमध्ये एक चेन्नईमा देखिएको पानीको सङ्कटले अखबारहरूमा ठूलो चर्चा पायो । बढ्दो सङ्ख्याका उद्योग, सहरीकरण र जलवायु परिवर्तनको असरले कसरी कहर बढाउँदैछ भन्ने विषयमा पनि यतिबेला बहस छेडियो । 

    भीषण खडेरीकै कारण दक्षिण अफ्रिकाको केपटाउन सहरमा २०१८ मा प्रतिव्यक्ति दैनिक ५० लिटर मात्रै पानी प्रयोग गर्न पाइने मापदण्ड लागू गरियो । २०१४ मा ब्राजिलको साओ पाओलो र अस्ट्रेलियाको पर्थमा पनि अवस्था यस्तै थियो । 


    जल सङ्कटका लागि खराब व्यवस्थापन, जलस्रोतहरूमा लगानीको कमी र जलवायु परिवर्तनलाई जिम्मेवार ठहर गर्ने गरिएको छ । तर न यो कुनै समस्या हो, न त कुनै कारण नै हो । 


    १९८० को दशकदेखि दुनियाँमा पानीको प्रयोगको दर प्रतिवर्ष लगभग एक प्रतिशतले बढिरहेको छ । र, २०५० सम्म यही दरमा बढ्ने आशा गरिएको छ । जानकारहरूका अनुसार आगामी समयमा पानीको माग र जलवायु परिवर्तनको असर बढ्दा जलस्रोतहरूमाथि दबाब बढ्नेछ । 

    के त्यसो भए धर्तीबाट पानी खतम भइरहेको छ ? यो समस्याको हल कसरी हुनसक्छ ? 

     

    एकातर्फ खडेरी, अर्कोतर्फ बाढी 

    जेम्स फैम्लिएटी सास्काचेवान विश्वविद्यालयअन्तर्गत ग्लोबल इन्स्टिच्युट फर वाटर सेक्युरिटीका कार्यकारी निर्देशक हुन् । यसअघि उनले क्यालिफोर्नियामा नासाको वाटर साइन्टिस्टका रूपमा काम गरिसकेका छन् । क्यालिफोर्नियाका जङ्गलमा हरेक वर्ष आगो लाग्छ । तर पनि सागसब्जी र फलफूलका लागि देशको आवश्यकताको एक तिहाइ हिस्सा यहीँ उत्पादन हुन्छ ।

    जेम्स भन्छन्, ‘यदि हामी खेतीका लागि पानीको कुरा गर्छौं भने सायद दुनियाँका सबै खेतीयोग्य इलाकाको स्थिति क्यालिफोर्निया जस्तै हुनुपर्छ । त्यहाँ जे उत्पादन हुन्छ, त्यसले केवल स्थानीय स्तरमा मात्रै होइन अन्य इलाकाको आवश्यक पनि पूर्ति गर्छ । जबकि यहाँको खेतीका लागि पर्ने पानीको आवश्यकता अन्य इलाकाले पूरा गर्दैनन् । यो अस्थिर तरिका हो ।’

    वर्ष २००२ मा नासाले खास ग्रेस मिसन लन्च गरेको थियो । १५ वर्षसम्म चलेको यस मिसनअन्तर्गत स्याटेलाइट तस्बिरहरूमार्फत धर्तीको जलस्रोतको स्थित र जल वितरणलाई बुझ्ने कोसिस गरियो । जेम्स भन्छन्, ‘ग्रेस मिसनबाट हामीलाई धर्तीका दुवै गोलाद्र्धमा एक वैश्विक प्याटर्न रहेको थाहा भयो । दुनियाँका केही हिस्सामा पानी भरपूर मात्रामा छ । जबकि दुनियाँका अन्य हिस्सा खडेरीमा छन् । यस प्याटर्नले देखाएअनुसार पानीले भरिपूर्ण इलाकामा बारम्बार बाढी आइरहेको छ, खडेरीयुक्त इलाका निरन्तर सुक्खा हुँदैछन् ।’ 

    वैश्विक स्तरमा पानीका भण्डारहरू लगातार सुक्दै जानुमा ग्लोबल वार्मिङ र खेतीको भूमिका महत्त्वपूर्ण छ । तर यसका अन्य कारण पनि छन् ।

     

    सहरीकरणको बढ्दो दायरा 

    दुनियाँको कुल आवादीको १७ दशमलव ५ प्रतिशत हिस्सा भारतमा छ । तर यहाँ धर्तीको ताजा पानीको स्रोतको केवल ४ प्रतिशत मात्रै छ । 

    सम्राट बजाक वर्ल्ड रिसोर्सेस इन्स्टिच्युटमा भारतको सहरी जल कार्यक्रमका निर्देशक हुन् । उनका अनुसार हालैका वर्षमा मानिसहरूको आय उच्च रूपमा बढेको छ र पानीको माग पनि त्यहीअनुसार छ । ‘मानिसहरू एयर कन्डिसनर, फ्रिज, वासिङ मेसिनजस्ता उपकरण अधिकभन्दा अधिक खरिद गरिरहेका छन् । देशमा बिजुलीको कुल आवश्यकताको ६५ प्रतिशतभन्दा धेरै थर्मल पावर प्लान्टबाट आउँछ र यसमा पानीको अधिक प्रयोग हुन्छ । यदि बिजुलीको प्रयोग अझै धेरै भयो भने यसको उत्पादनका लागि पानीको माग पनि उति नै बढ्नेछ । 

    सम्राटका अनुसार आयसँगै मानिसहरूको खानपानको तरिका पनि बदलिरहेको छ । प्रोसेस्ड फुडको खपत अधिक भएको छ र पहिलेको तुलनामा पानीको जरुरत पनि बढेको छ । 

    यसबाहेक सहरीकरणको बढ्दो दायरा र वर्षाको पानी बर्बाद हुनु पनि ठूलो समस्या हो । भारतमा खानेपानीको कुल आवश्यकताको ८५ प्रतिशत भू–जलबाट पूरा हुने गरेको छ । 

    ‘सहरीकरणको तरिका बदलिँदै छ । जमिनको सतहमा कङ्क्रिट ढलान ओछ्याइएको छ र यसले सतहलाई कडा र अभेद्य बनाएको छ । त्यस्तै जङ्गल कटानले पनि जमिनलाई कम्प्याक्ट गरिरहेको छ । त्यसकारण जमिनले पानीलाई सोस्न पाइरहेको छैन र बर्खाको पानी बगेर सिस्टमबाट बाहिर गइरहेको छ ।’

     

    देशका झन्डै ७९ प्रतिशत घरसम्म पिउने पानीको नल पुगेको छैन । धेरै इलाकामा मानिस पानी खरिद गर्न बाध्य छन् । देशमा प्रदूषित पानीबाट हरेक साल झन्डै दुई लाख जानको मृत्यु हुन्छ र हजारौँ मानिस बिरामी हुन्छन् । 

    जल सङ्कटबाट परिवार त प्रभावित नै छन्, यसको असर समाजमा पनि परेको छ । ‘जल सङ्कटले मानिसलाई कहिल्यै खतम नहुने गरिबीको दुष्चक्रमा धकेलिदिन्छ र समाजमा असमानता बढाउँछ । सामाजिक र आर्थिक रूपमा पिछडिएका मानिसले पानीमा अधिक खर्च गर्न पाउँदैनन् । यसको असर उनीहरूको स्वास्थ्यमा पर्छ र उनीहरू यस दुष्चक्रमा फस्छन् ।’

    क्यालिफोर्निया र भारतमा जे हुँदैछ त्यो दुनियाँका धेरै हिस्सामा भइरहेको छ । तर के हामी धर्तीमा पानी खतम भइरहेको छ भन्न सक्छौँ ?

    आवश्यकता र प्रयोग 

    केट ब्राउम्यान युनिभर्सिटी अफ मिन्नेसोटाको ग्लोबल वाटर इनिसिएटिभका लिड साइन्टिस्ट हुन् । उनका अनुसार समस्या पानीको कमी नभएर यसको आवश्यकता र उपलब्धतामा छ । ‘हामीलाई थाहा छ, जलवायु परिवर्तनका कारण अत्यधिक बाढी आउनेछ र खडेरी पनि पर्नेछ । खासमा धर्तीमा पानी कम भएको छैन तर हामीलाई जहाँ पानीको जरुरी छ, त्यहाँ मिल्दैन । कतिपय ठाउँमा भने आवश्यकताभन्दा बढी पानी मिलिरहेको छ,’ केटले भनिन् ।

    सहरीकरणका कारण बर्खाको पानी जमिनभित्र छिर्दैन भन्ने सम्राट बजाकको तर्कमा केटको फरक टिप्प्पणी छ । केटका अनुसार यो पानी सप्लाई गर्ने कुरा भयो । तर पानीको कमीको कारण अरू नै छ । ‘सङ्कटको एउटा ठूलो कारण पानीको प्रयोगसँग जोडिएको छ । हामीले धर्तीमा विद्यमान पानीको हिसाब यसको प्रयोगसँग गर्न जानेका छैनौँ र हामी पानी सकिँदैैछ भनिरहेका छौँ,’ केटले भनिन् ।  

    पानीको प्रयोग कसरी गर्ने भन्ने विषयले यसमा फरक पार्ने उनले बताइन् । मसलन खेत ठूलो भए, वाष्पीकरण अधिक हुनेछ । घरमा प्रयोग भएको पानीलाई फ्याक्दाँ त्यो बग्नेछ र जलचक्र चल्नेछ । तर न त भू–जलस्तर बढ्नेछ, न अर्कोपटक प्रयोगका लागि पानी उपलब्ध हुनेछ । ‘प्रदूषण पनि एक ठूलो समस्या हो ।

    यदि पानी छ तर प्रयोग गर्न लायक छैन भने त्यो नहुनु बराबर हो । पानीसम्मको पहुँचका लागि ढाँचागत सुविधा पनि महत्त्वपूर्ण छ । पानी कति छ र कतिवटा घरसम्म पुग्नेछ, यो महत्त्वपूर्ण फैसला हुनेछ । थप अभावले पनि असमानता जन्माउँछ,’ उनले भनिन् ।

    केटको बुझाइमा आगामी समय पनि धर्तीमा पानी सायद खतम हुनेछैन तर बढ्दो जनसङ्ख्याका कारण चुनौतीहरू बढ्ने निश्चित छ । 


    समस्यासँग कसरी जुध्ने ?

    डेनियल सेमी द नेचर कन्जर्वेसीमा रिजिलेएन्ट वाटरसेड स्ट्रयाटिजी निर्देशक हुन् । उनका अनुसार जल सङ्कटसँग जुध्ने सुरुवात खेतीबाट हुनुपर्छ । ‘कुन स्थानमा, कसरी अन्न उब्जाइँदैछ ? यसमा तालमेलको कमी छ । पानीको सही प्रयोग गरेर कुन तरिकाको खेती गर्न सकिन्छ भनेर हामीले सिक्नुपर्ने हुन्छ,’ डेनियलले भने । 

    तर यसका लागि हामी कति तयार छौँ भन्ने विषय अलग मुद्दा भयो । डेनियलका अनुसार जल प्रदूषणसँग जुध्नका लागि हामी तयार छौँ । उनका अनुसार अधिकांश मामिलामा यसको जिम्मेवारी सरकारले लिनुपर्छ र उद्योगहरूलाई यसका लागि बाध्य गर्नुपर्छ । तर जल संशोधन खर्चिलो काम हो ।

    अर्को एउटा प्रश्न पनि छ, के हामी समुद्रको पानीलाई पिउन लायक बनाउन सक्दैनौँ ?

    ‘यो रोचक प्रविधि पक्कै हो । तर आजको अवस्थामा पानीसँग नुनलाई अलग गर्ने प्रक्रिया महँगो छ । ऊर्जाको प्रयोगको दृष्टिले पनि यो सही छैन । किनकि ऊर्जा सङ्कट पहिलेदेखि नै ठूलो मुद्दा रहिआएको छ,’ डेनियलले भने । 

    अर्को, एउटा प्रश्न यस प्रक्रियाबाट बन्ने नुनलाई के गर्ने भन्ने पनि हो । यसलाई न जमिनमा फ्याक्न सकिन्छ, न समुन्द्रमै । 

    त्यसो भए जल सङ्कटसँग कसरी जुध्ने  ?

    ‘पार्क र गाउँ–सहरमा मौजुद हराभरा इलाकामा यो सम्भावना लुकेको छ । यी इलाकाले स्पन्ज जसरी काम गर्छन् अर्थात् यदि हामी कङ्क्रिटबाट हटेर यस्तो जमिन तयार गर्छौं, जसले पानी सोस्न सक्छ । तब बर्खाको पानी बर्बाद हुनेछैन र भू–जल स्तर बढ्नेछ ।’

    तर के यस्ता कोसिसबाट हामी तल गइरहेको भू–जलस्तरको स्थितिलाई सुधार्न सक्छौँ ?

    सानो कोसिस, ठूलो परिवर्तन 

    तरुण भारत सङ्घका अध्यक्ष राजेन्द्र सिंह पछिल्ला चालीस वर्षदेखि राजस्थानको मरुभूमिलाई हराभरा बनाउने काममा जुटेका छन् । उनलाई वाटरम्यान अफ इन्डिया नामले पनि सम्बोधन गर्ने गरिन्छ । उनका अनुसार धर्तीको पानी सकिइरहेको छैन, बरु यसमाथि अतिक्रमण, प्रदूषण र शोषण बढिरहेको छ । ‘पानीको जुन प्रश्न छ त्यसलाई आधुनिक शिक्षाले थप गम्भीर बनाइदियो । आधुनिक शिक्षामा हाम्रो प्रविधि र इन्जिनियरिङ प्राकृतिक संसाधनहरूको अधिकतम प्रयोगको विकासलाई उपलब्धि मानिन्छ । यो सफलता हाम्रा लागि खतरनाक छ । यस्तो सिकाइका कारण मानिसले ३ सय फिटदेखि २ हजार फिट गहिराइबाट भू–जल निकालिरहेका छन् ।’

    विश्वमा भू–जलको जति प्रयोग हुन्छ त्यसको २५ प्रतिशत प्रयोग भारतमै हुन्छ । यस मामिलामा चीन र अमेरिकाभन्दा पनि भारत अघि छ । 

    W2.jpg

    राजेन्द्र सिंहका अनुसार पानीको सङ्कटले समुदायहरूबीच एक अलग तरिकाको तनाव जन्माइरहेको छ । त्यस्तै नयाँ चुनौतीहरू पनि पैदा गरिरहेको छ । ‘पानीको कमीका कारण पूरै दुनियाँमा विस्थापन बढिरहेको छ । यसकारण जो मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा जान्छन्, उनीहरूलाई जलवायु शरणार्थी भनिन्छ ।

    जल सङ्कटले थर्ड वर्ल्ड वाटर वारलाई निमन्त्रणा दिइरहेको छ । यसकारण हामीले एकातर्फ जल उपयोग दक्षता बढाउन जरुरी छ भने दोस्रोतर्फ जल संरक्षण गर्ने र जलमाथि समुदायहरूको अधिकार कायम राख्ने काम गर्न जरुरी छ । पानीमाथि मानिसहरूको अधिकारका लागि उद्योगहरू सबैभन्दा ठूलो खतरा बनेका छन् । र, यही नै सबैभन्दा ठूलो चुनौती हो ।’

    जल सङ्कटको समस्यालाई सुल्झाउन सके, जलवायु परिवर्तनको दिशालाई पनि बदल्न सकिने राजेन्द्र सिंहको मान्यता छ । ‘४० वर्षको मेरो अनुभवले मलाई के भन्न बाध्य गरेको छ भने जल नै जलवायु हो र जलवायु नै जल हो । यदि दुनियाँलाई ग्लोबल वार्मिङ र जलवायु परिवर्तनबाट बचाउने हो भने हामीले पानीको सही तरिकाले व्यवस्थापन गर्नुपर्ने हुन्छ । हरियालीलाई बढाउनुपर्ने हुन्छ र पानीका कारण हुने जमिन कटान र सिल्टिङसँग पनि जुध्नुपर्ने हुन्छ । त्यसपछि मात्रै संरक्षण र नवीकरणको प्रक्रिया तेज हुनेछ ।’

    त्यसो भए, के जल संरक्षणका लागि हामीलाई ठूला परियोजनाहरूको आवश्यकता छ ?

    ‘साना साना काम मिलाएर ठूलो परिवर्तन ल्याउन सकिन्छ । ठूला बाँधहरूको सुरुवात विस्थापनबाट हुन्छ । साना परियोजनाहरूमा यस्तो हुँदैन । ११ हजार ८ सय साना परियोजनाहरूले १० हजार ५ सय वर्ग किलोमिटर इलाकाको पर्यावरणलाई हराभरा गर्नसक्छन् । तर एउटा ठूलो बाँधले यस्तो गर्न सक्दैन ।’

    अब पुरानै प्रश्नमा फर्कौं : के धर्तीमा पानी खतम भइरहेको छ ?

    एक आकलनअनुसार सन् २०५० सम्म दुनियाँको आधा आवादी यस्तो इलाकामा रहनेछ, जहाँ जल सङ्कट हुनेछ । यतिबेलासम्म विश्वका ३६ प्रतिशत सहरहरूमा पानीको अभाव हुनेछ । 

    जलवायु परिवर्तन, खराब व्यवस्थापन, जलस्रोतहरूको घट्दो सङ्ख्या र लगानीको कमी : कुनै न कुनै स्तरमा यी सबै कारण समस्याका लागि जिम्मेवार छन् । तर जानकारहरूका अनुसार मुद्दा पानी सकिने विषयको होइन, बरु त्यससँग मानिसहरूको सम्बन्ध समाप्त हुनेबारेको हो । 

    समस्याको समाधान त छ तर यसका लागि हामीले आफ्नो तौरतरिका बदल्नुपर्नेछ र एकपटक फेरि पानीको प्रयोगको विषयमा सोच्नुपर्नेछ । ताकि भविष्यमा हरके व्यक्तिका लागि, हरके स्थानमा आवश्यकताअनुसारको पानी उपलब्ध होस् । नत्र बेन्जामिन फ्र्याङ्कलिनले भनेजस्तै पानीको महत्त्व हामीले त्यतिबेला बुझ्नेछौँ जतिबेला कुवा सुकिसकेको हुनेछ । बीबीसी हिन्दी

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology