Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चरम गरिबीले विवाहका नाममा अफगानी बालिका बेच्ने प्रथा फेरि सुरु

चरम गरिबीले विवाहका नाममा अफगानी बालिका बेच्ने प्रथा फेरि सुरु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १६, २०७८ मंगलवार • १८:२४:४१ बजे
  • 991
    SHARES
  • चरम गरिबीले विवाहका नाममा अफगानी बालिका बेच्ने प्रथा फेरि सुरु

    तालिवान शासित अफगानिस्तान आर्थिक संकटमा फस्दै जाँदा मुलुकका विभिन्न भागमा प्रतिबन्धित प्रथाले पुनः टाउको उठाउन लागेको छ। परिवारका लागि खर्च जुटाउने नाममा विवाहका लागि बालिका बेच्ने प्रथा फेरि सुरु भएको पाइएको छ। पछिल्लो महिनामा गरिबी र भोकमरीसँग जुधिरहेका अफगान परिवारले जीवन धान्नका लागि पैसा जुटाउन विवाहको नाममा कलिला बालिका बेच्न बाध्य भएको जनाएका छन्। यस्तै हृदयविदारक कथा छ–नौ वर्षीया पार्वाना मलिकको।

    images

    उनलाई परिवारले गत महिना ५५ वर्षीय कुर्वान भन्ने व्यक्तिलाई बेच्यो। उनको परिवार द्वन्द्वले जर्जर बाद्घिस प्रान्तमा रहेको आन्तरिक विस्थापित व्यक्तिका लागि बनाइएको शिविरमा बस्दै आएको छ। तालिवानले सत्ता कब्जा गरेपछि रोजगारी गुमेकाले उनको आठ जनाको परिवारलाई छाक टार्न धौधौ छ।

    अमेरिकालगायत पश्चिमा मुलुकले अफगानिस्तान छाडेपछि त्यहाँ विदेशी सहायता पनि ठप्प भएको छ। पार्वानाका बुबा अब्दुल मलिकले आर्थिक संकटले गर्दा दुई महिनाअघि नै १२ वर्षीया छोरी बेचेको खुलासा गरिसकेका छन्। अहिले उनी परिवारको छाक टार्न अर्की छोरी बेच्न बाध्य छन्।

    यो निर्णयले आफूलाई दुःखी, दोषी, लज्जास्पद र चिन्तित बनाएको उनको भनाइ छ। त्यसो त पार्वानाको पढ्ने रहर छ। उनी पढेर पछि शिक्षक बन्न चाहन्छिन्। तर, परिवारको विकराल आर्थिक अवस्थाले गर्दा उनका लागि पढाइको ढोका बन्द भएको छ। हुन लागेको विवाहको बारेमा कुरा गर्दा पार्वाना भयभित हुने गर्छिन्।

    ‘त्यो ‘बुढो मान्छे’ सम्झिनेबित्तिकै मलाई डर लाग्छ, उसले मलाई कुट्नेछ, जबर्जस्ती मलाई उसको घरको काममा लगाउनेछ,’ उनले भनेकी छन्। ५५ वर्षीय कुर्वान भन्ने व्यक्ति पार्वानाको घरमा आएर २ लाख अफगानी एएफएन (दुई हजार दुई सय अमेरिकी डलर) भुक्तानी गर्‍यो, त्यो पनि भेडा, जमिन र केही नगदका रूपमा। पर्वानाका बुबालाई रकम भुक्तानी गरिसकेपछि कुर्वानले कलिलो उमेरकी पार्वानालाई लिएर गए ।

    अब्दुल मलिकले छोरीको नयाँ मालिकलाई भक्कानिँदै भने, ‘यो तिम्रो बेहुली हो, राम्रोसँग यिनको हेरचाह गर्नू, यिनलाई नपिट्नू है।’ रोएको अब्दुललाई सम्झाउँदै कुर्वानले भने, ‘पक्कै पार्वानालाई माया गर्नेछु अनि परिवारको सदस्यका रूपमा व्यवहार गर्नेछु।’

    त्यसैगरी, छिमेकी घोर प्रान्तमा ऋण तिर्न नसकेपछि त्यसको बदलामा अर्को परिवारले १० वर्षीया छोरी मागुललाई ७० वर्षीय वृद्धसँग बिहे गरिदिने निर्णय गरेका छन्। ‘म मेरा बाबुआमालाई छाड्न चाहँदिनँ।

    यदि म त्यहाँ जानुपर्‍यो भने बरु आफैँ मर्छु,’ मागुलले भनेकी छन्। पार्वाना र मागुल त प्रतिनिधि पात्र हुन्, तालिवानले सत्ता लिएपछि अफगान बालिकाहरूको भविष्य अन्धकार भएको छ। तालिवानलाई महिलालाई माध्यमिक तहमा पढ्न निषेध गरेको छ। गरिबीको अवस्था विकराल बन्दै गएको छ। धेरै बालिका विवाहका नाममा बेचिएका छन्।

    ‘यदि बालिकाहरु स्कुलमा भर्ना भएका छन् भने परिवारले उनीहरुको भविष्यका लागि लगानी गर्छन्,’ ह्युमन राइट्स वाचका हिथर बारले भने, ‘ बालिकाहरूलाई शिक्षाबाट वञ्चित गराउनेबित्तिकै उनीहरू यो कुप्रथाको सिकार भएर बेचिइन्छन्।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology