नेकपा (एमाले)ले दशौँ राष्ट्रिय महाधिवेशनको तयारीलाई तीब्रता दिएको जनाएको छ । एमाले केन्द्रीय प्रचार विभागले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनको तयारीलाई तीब्रता दिएको जनाएको हो । महाधिवेशनमा पार्टीसँग भाइचारा तथा मैत्रीपूर्ण सम्बन्ध रहेका पार्टी र दक्षिण एसियाका सत्तारुढ एवं विपक्षी दलका प्रतिनिधिलाई आमन्त्रण गरेको एमालेले जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश कुमार भट्टराईले नेपालका सबै राजनीतिक दलहरुलाई पनि महाधिवेशनमा आमन्त्रण गरिएको जानकारी दिए । तर, एमालेबाट अलग भएर बनेको नेकपा (एकीकृत समाजवादी) पहिचान स्थापित भइनसकेको पार्टी भएकाले त्यसलाई आमन्त्रण गरिरहनुनपर्ने उनले बताए ।
सचिव भट्टराईले विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदन र विधान संशोधन प्रस्ताव सर्वसम्मतरुपमा पारित गरेकाले पार्टीलाई महाधिवेशनले थप एकताबद्ध र सुदृढ बनाउने विश्वास व्यक्त गरे ।
भट्टराईले एमाले मुलुकको लोकतान्त्रिक आन्दोलन र उपलब्धिको प्रमुख हिस्सेदार रहेको उल्लेख गर्दै वर्तमान सत्ता गठबन्धनले लोकतन्त्र र संविधानको सही कार्यान्यनका क्रममा चुनौती खडा गरेको आरोप लगाए ।
त्यस्तै महाधवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिनेछ भने गत असोजमा सम्पन्न विधान महाधिवशेनले पारित गरेका विभिन्न प्रतिवेदन र विधान संशोधनका दस्तावेज प्रकाशन गरी वितरण गरिने प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए ।
महाधिवेशनमा स्वदेशका २२ जनङ्गठनका केन्द्रीय कमिटीमा कार्यरत पार्टी सदस्यबाट कम्तीमा दुई महिलासहित पाँच जनाका दरले निर्वाचित प्रतिनिधि गरी कूल एक हजार ९९९ प्रतिनिधि रहनेछन् ।
महाधिवेशन प्रतिनिधि चयन यसरी गरिनेछ
– महाधिवेशनमा केन्द्रीय सल्लाहकार परिषदका पदाधिकारीसमेत सदस्यहरूमध्येबाट निर्वाचित हुने १५ जना प्रतिनिधि र सल्लाहकार परिषदका अन्य सदस्यहरू राष्ट्रिय महाधिवेशनमा सहभागी हुने तर, उहाँहरूलाई मताधिकार नहुने ।
– प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्यहरू मध्येबाट कम्तिमा २ महिलासहित ५ जना दरले निर्वाचित हुने प्रतिनिधि ।
– प्रतिनिधिसभा निर्वाचन क्षेत्र अन्तर्गतका १२०० सम्म पार्टी सदस्य मध्येबाट कम्तिमा एक महिलासहित ३ जनाका दरले निर्वाचित हुने प्रतिनिधि । सो संख्यामा ८०० सम्म सदस्य थप भएमा थप १ जना, १६०० सम्म सदस्य थप भएमा थप २ जना, २४०० सम्म सदस्य थप भएमा कम्तिमा एक महिलासहित ३ जना र सोभन्दा बढी भएमा सोही अनुपातमा निर्वाचित हुने प्रतिनिधि । ३ जना प्रतिनिधि निर्वाचित हुँदा कम्तिमा एक जना महिला अनिवार्य हुने ।
– देशभित्रका विशेष जिल्ला अन्तर्गतका १२०० सम्म पार्टी सदस्य मध्येबाट कम्तिमा १ महिलासहित ३ जनाका दरले निर्वाचित हुने प्रतिनिधि । सो संख्यामा ८०० सम्म सदस्य थप भएमा थप १ जना, १६०० सम्म सदस्य थप भएमा थप २ जना, २४०० सम्म सदस्य थप भएमा कम्तिमा एक महिलासहित ३ जना र सोभन्दा बढी भएमा सोहीअनुपातमा निर्वाचित हुने प्रतिनिधि । ३ जना प्रतिनिधि निर्वाचित हुँदा कम्तिमा १ जना महिला अनिवार्य हुने ।
– देशभित्रका जिल्ला र विशेष जिल्ला अन्तर्गतका ५०० सम्म दलित पार्टी सदस्यमध्येबाट निर्वाचित हुने एक जना प्रतिनिधि । सो संख्यामा ५०० सम्म सदस्य थप भएमा थप १ जना, १००० सम्म सदस्य थप भएमा थप २ जना, १५०० सम्म सदस्य थप भएमा कम्तिमा एक महिलासहित ३ जना र सोभन्दा बढी भएमा सोही अनुपातमा निर्वाचित हुने दलित प्रतिनिधि । ३ जना प्रतिनिधि निर्वाचित हुँदा कम्तिमा एक जना महिला अनिवार्य हुने ।
– भूगोलका प्रदेश अन्तर्गतका मजदूर पार्टी सदस्यमध्येबाट कम्तिमा तीन महिलासहित सात जनाका दरले निर्वाचित हुने प्रनितनिधि ।
– भारत, अमेरिका (क्यानडासमेत), युरोप, एसिया प्यासिफिक, खाडी र ओसियानामध्ये प्रत्येकका पार्टी सदस्यहरूबाट कम्तिमा २ महिलासहित ५ जनाका दरले निर्वाचित हुने प्रतिनिधि ।
– पार्टीका केन्द्रीय विभाग र केन्द्रीय कार्यालय अन्तर्गतका पार्टी सदस्यहरूबाट निर्वाचित हुने कम्तिमा २ महिलासहित ५ जना प्रतिनिधि । विभागका सचिव र सदस्यहरू विभाग र केन्द्रीय कार्यालय वा आफ्नो पार्टी सदस्यता कायम रहेकोमध्ये कुनै एक स्थानबाट उम्मेदवार बन्न सक्ने ।
– नेपाल ट्रेड युनियन महासंघ, अखिल नेपाल किसान महासंघ, अखिल नेपाल महिला संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, राष्ट्रिय युवा संघ, नेपाल, राष्ट्रिय जनसाँस्कृतिक महासंघ, नेपाल, लोकतान्त्रिक मधेसी संगठन, नेपाल खेलकूद महासंघ, आदिवासी–जनजाति महासंघ, नेपाल, पेशागत महासंघ, नेपाल, नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेपाल मुस्लिम ईत्तेहाद संगठन, प्रेस चौतारी, नेपाल, नेपाल भूमिहीन सुकुम्बासी संगठन, लोकतान्त्रिक अपाङ्ग संगठन, नेपाल बुद्धिजीवी परिषद, प्रगतिशील पेशागत कानून व्यवसायी संगठन, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन, नेपाल उद्योग व्यवसायी महासंघ, प्रगतिशील इन्जिनीयर्स एशोसिएसन, नेपाल, मानव अधिकार एलाइन्स र राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालका सदस्यहरूबाट कम्तिमा २ महिलासहित ५ जनाका दरले निर्वाचित प्रतिनिधि ।