नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेमा रहेका १० भाईलाई नेकपा एसमा आउन आह्वान गरेका छन् । एमालेमा गएर पछुताइरहेको भन्दै अध्यक्ष नेपालले अझै केही नबिग्रिएको र पार्टीमा आउन आग्रह गरे ।
‘त्यहाँ गएर पनि पछुताइरहेका छन् ।
ठिक छ तपाईहरुले हेर्नुभयो, भोग्नुभयो, छाम्नुभयो, पीडा सहनुभयो । अब त फर्केर आए पनि हुन्छ । स्वागत छ,’ मध्यपुर थिमिमा आयोजित शुभकामना आदानप्रदानमा अध्यक्ष नेपालले भने ।
अध्यक्ष नेपालले आफूहरुसँग इर्स्या गर्नेहरुको हालत खत्तम हुने भन्दै त्यस्ताहरुको पछि कोही नलाग्न अनुरोध गरे । ‘राम्रो पार्टीमा आउनुस् । हामीसँग आउनुस्,’ उनले भने, ‘हामी सहि निष्कर्ष पुग्ने, सही बाटोमा पुग्ने पार्टी हो ।
कलम छापलाई जिताउने हो । समाजवादमा जाने हो ।’
‘गफाडी जमातको कामै खिसिट्युरी गर्ने हो’
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई गफाडीको संज्ञा दिएका छन् ।
मध्यपुर थिमिमा पार्टी नगर कमिटीद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले अहिले ओली नेतृत्वको एमाले गफाडी जमात भएको टिप्पणी गरे । गफाडीको कामै खिसिट्युरी गर्ने भएको उनको भनाइ थियो ।
ओलीकै शब्द र स्वरमा क्यारिकेचर गर्दै अध्यक्ष नेपालले भने, ‘अस्ति भर्खर रौतहटमा १५ हजार मान्छेको बीचमा शुभकामना आदानप्रदान कार्यक्रम भयो । हाम्रा विरोधी भनिनेहरु खिसिट्युरी गर्दै थिए, ‘कति मान्छे आउलान र जम्मै कुर्सी नै खाली होला’ भन्या थे । जब त्यहाँ १५ हजार मानिस ओर्लिए । २ हजार मोटरसाइकल सडकमा कुद्न थाले । पूरा जिल्लामा तरंग पैदा गर्यो । सातो गएछ तिनीहरुको ।’
उनले थपे, ‘उनीहरुको कामै खिसिट्युरी गर्ने हो । गफडी जमात हो । त्यो बाहेक केही जानेकै छैन । काम गर्ने कम गफ गर्ने ज्यादा, गाउँघरमा यस्तालाई गफाडी भनिन्छ ।
हामी कामकाजी हौँ । विराटनगर मोरङमा पनि २ हजार आउलान कि भन्ने थियो, सात हजार मान्छे आइदिए । सोचेको भन्दा पनि आकर्षण छ । कैलाली, कञ्चनपुर, पोखरा, स्याङ्जा पुगेको थिए नयाँ तरंग छ ।’
सबै ठाउँमा मान्छेहरु नयाँ पाटीबाट नयाँ ढंगले जान खोजेको उनको दाबी छ ।