नेकपा (मओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले माओवादीले लिएको विचार र कार्यक्रमका कारण फेरि माओवादीमाथि आकर्षण बढिरहेको बताएका छन् । काठमाडौँको कीर्तिपुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।
“अहिले पनि नीति, नेता, कार्यक्रम र जनता माओवादीसँगै रहेका छन् । हामीले राम्रो काम गरेर पनि जनतालाई माओवादीले बुझाउन नसकेको हो,” उनले भने । उनले माओवादी प्रतिक्रियावादीको दयाले यहाँसम्म आइपुगेको नभइ जनताले साथ दिएर अहिलेको अवस्थामा आएको बताए । उनले नेता लेलिनको भनाइ दोहोर्याउँदै भने, “कम्युनिस्टहरु परसम्म जाने सपना देख्छन् । त्यसकारण सपना देख्नु जायज हो ।”
राम्रो सपना देखेर सपना पूरा गर्नका निम्ति संघर्ष गर्नु कम्युनिस्टहरुको चरित्र र विशेषता भएको बताए । “हामीले धेरै सपना देख्यौँ । जनयुद्ध, शान्ति प्रक्रिया, संविधान गणतन्त्र यी सबै हामीले सपना देखेर पूरा भएका हुन्,” उनले भने । आफूहरुले संविधानमा मतभेद राखेरै भएपनि जारी गरेको स्मरण गर्दै अनुकुल समयमा संविधान संशोधन गरेर जाने बताए ।
फरक प्रसंगमा उनले भने,“अहिले फेरि माओवादी र अझ मधेसमा माअोवादी प्रवेश गर्नेहरुको हजारौँ हजारको लहर देखिन थालेको छ ।” पार्टीमा उभार आउन अझै बाँकी रहेको बताउँदै उनले त्यसका लागि जनता कार्यकर्ता जाग्नुपर्ने बताए । अहिले पनि नीति, नेता कार्यक्रम र जनता माओवादीसँगै रहेको उनको भनाइ थियो । भूमिहीनलाई लालपुर्जा दिने काम कीर्तिपुरबाट सुरु गर्न सम्बन्धित मन्त्रीलाई आवश्यक सुझाव दिएको प्रचण्डले बताए ।
६ वटै प्रदेश सरकार गठबन्धनको हातमा सानो दुःखले आएको होइन : प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले ६ वटै प्रदेश सरकार गठबन्धनको हातमा आइपुगेको भन्दै यो सानो दुःखले सम्भव नभएको बताएका छन् । बिहीबार राजधानीमा आयोजित नेवाःमुक्ति मोर्चा केन्द्रीय समितिद्वारा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा सम्धबोन गर्दै प्रचण्डले उपलब्धिहरुको रक्षाका लागि जनत अझै लड्न तयार छन् भन्ने आफूहरुलाई थाहा भएको बताए ।
“जनता अहिले पनि यो उपलब्धिको रक्षाका लागि लड्न तथार छन् भन्ने हामीलाई ज्ञान भयो । मिलेर आन्दोलनमा जाँदा जित जनताकै हुनेरहेछ । जुनसुकै सेटिङ भएपनि,” उनले भने,“६ वटै प्रदेश सरकार गठबन्धनकै हातमा आइपुगेको छ, यो सानो दुःखले आएको होइन ।” अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीहरु सलबलाइरहेको भन्दै षड्यन्त्र पूरै नसकिएको बताए । “उनीहरुले गर्ने षड्यन्त्र पूरै सकियो अब हामीले जित्यौँ भन्ने अवस्था बनिसकेको छैन, षड्यन्त्र अझै भइनै राख्छन्,” उनले भने,“यसलाई परास्त गर्न हामी बलियो हुनुपर्छ ।”
फरक प्रसंगमा प्रचण्डले माओवादी केन्द्र अरु दल जस्तो देखिएको तर त्यो नभएको स्पष्ट पारे । “माओवादीले यत्रो जनयुद्ध गर्यो । परिवर्तन ल्यायो । हामी अन्य पार्टीभन्दा फरक पार्टी हौँ । तर, पछिल्लो समय १५ वर्षयता माओवादी पार्टी अन्य पार्टी जस्तै भयौँ तर त्यो होइन,” उनले भने ।
प्रचण्डले माओवादीले पहिचानको मुद्दा नछोडि अघि बढाइरहेको पनि बताए । यसलाई अझ सशक्त तरिकाले अघि बढाउनेमा माओवादी प्रतिबद्ध रहेकोसमेत उनले उल्लेख गरे । “पहिचानको मुद्दा छोडेका छैनौँ । संविधानमा पहिचानको मुद्दा नसमेटिएकोमा हामीले विरोध जनाएका छौँ,” उनले भने,“यसका लागि हामीले देशभरि आन्दोलन गरेका छौँ ।
खुसीको कुरा माओवादीको महत्व बढेको छ ।” त्यसैगरी अध्यक्ष प्रचण्डले पछिल्लो समय मुलुकको सबै क्षेत्रमा माओवादीको आकर्षण बढेको दाबी गरेका छन् । उनले हिमाली, पहाडी र तराई क्षेत्रका बुद्धिजीवि नागरिकहरुले पनि देश बचाउन माओवादीको आवश्यकता अनुभूत गरेको बताए ।