नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ ५ दलीय गठबन्धन लोकतन्त्रको नास गर्ने भक्षकहरुको समूह भएको आरोप लगाएका छन् ।
आइतबार काठमाडौंमा कर्णाली प्रदेश कमिटीले आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ५ दलीय सत्तारुढ गठबन्धन लोकतन्त्रको रक्षक नभई भक्षक भएको आरोप लगाएका हुन् । ‘अहिले यो ५ दलीय गठबन्धन छ नि ! बर्का राधे राधे लगाएका हुन् कि ? राम राम लगाका हुन कि कृष्ण कृष्ण ।
यी सबै लोकतन्त्रका भक्षकहरु हुन् भक्षीहरु हुन्’, ओलीले भने, ‘यिनीहरुलाई लोकतन्त्रका मूल्य मान्यता होइन, सत्ता चाहिएको छ, स्वार्थ पुरा गर्नुछ ।’ गठबन्धनलाई देश र संविधान समेत नचाहिएको ओलीको भनाइ छ ।
ओलीले देश, लोकतन्त्र र संविधानको रक्षा एमालेले मात्रै गर्ने भन्दै एमाले नभएको भए यसअघि नै १७ साल दोहोरिने पक्का रहेको बताए । ‘हामी हुँदैनथियौ भने १७ साल अस्ति नै आइसक्थ्यो यहाँ एमाले छ त्यसकारण १७ साल आउन सक्दैन’, ओलीको भनाइ छ । अध्यक्ष ओलीले संविधान एउटा पुस्तक भएको भन्दै त्यो पुस्तक च्यात्न कुनै समय नलाग्ने बताए ।
ओलीले एमाले सरकार छोड्न तयार भएको छर तर संविधान च्यात्न र लोकतन्त्र तलमाथि हुन नदिने बताए । ‘नेकपा एमाले यो अठोटमा रहेकाले नै लोकतन्त्र अडिएको हो’, अध्यक्ष ओलीको भनाइ छ ।