नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकले पार्टीको गाउँ तथा नगर कमिटीमा रहने पदाधिकारीको संख्या टुंग्याएको छ ।
शुक्रबार भर्चुअल माध्यममा बसेको केन्द्रीय समिति बैठकले विधान संशोधन गर्दै पदाधिकारी संख्या बढाउने निर्णय गरेको हो । अब गाउँपालिका र नगरपालिका समितिमा ७ जना पदाधिकारी रहने भएका छन् ।
यस अगाडि ५ जना पदाधिकारी रहने ब्यवस्था थियो । जसअनुसार गाउँ तथा नगर समितिमा अध्यक्ष १, उपाध्यक्ष ३, सचिव १, सहसचिव १ र कोषाध्यक्ष १ गरि ७ पदाधिकारी रहने भएका हुन् ।
माओवादी केन्द्रले जिल्ला समन्वय समितिमा पनि पालिकाका अध्यक्ष, उपाध्यक्ष र सचिव रहने नयाँ व्यवस्था पनि गरेको छ । त्यसैगरि शुक्रवारको भर्चुअल बैठकले पार्टी सदस्य नविकरणको समय पनि नथप्ने निर्णय गरेको छ ।
बैठक पश्चात नागरिकखबरसँग कुराकानी गर्दै एक केन्द्रीय सदस्यले भरेका फारमहरु संकलन गर्ने तर अनलाइन दर्ता भने रोक्ने छलफल भएको बताए । बैठकको सञ्चालन पार्टी अध्यक्ष प्रचण्डको अनुमतिले नेता नारायणकाजी श्रेष्ठले सञ्चालन गरेका थिए । अध्यक्ष प्रचण्ड अस्वस्थताका कारण बैठकमा उपस्थित नभएको बताइएको छ ।
बैठकमा नेता देव गुरुङले विधान संसोधन प्रस्ताव पेश गरे । उनले पेश गरेको प्रस्ताव केन्द्रीय सदस्यहरुले एकमतले पारित गरे । माओवादी केन्द्रले शनिवारबाटै देशभर टोल भेला गर्ने भएको छ ।
सो पार्टीको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ सम्म काठमाडौंमा गर्ने जनाएको छ ।