नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच आज झण्डै चार घन्टा छलफल भएको छ । संवादहीनताको अन्त्य गर्दै अध्यक्षद्वयबीच विवाद समाधानउन्मुख कोणबाट छलफल भएको स्रोतले जनाएको छ ।
पार्टीमा देखिएका समस्या समाधानमा केन्द्रित रहेर ओली र प्रचण्डबीच बिहान ११ बजेदेखि दिउँसो सवा ३ बजेसम्म छलफल भएको थियो । ओली र प्रचण्डबीच भएको संवादको क्रममा महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यद्वय जनार्दन शर्मा र शंकर पोखरेल सहभागी भएका थिए ।
महाधिवेशन केन्द्रित रहेर अध्यक्षद्वयबीच सहमतिको प्रस्तावमा छलफल भएको र छिट्टै निकास निस्कने छलफलमा सहभागी एक नेताले जानकारी दिए। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले बुधबार एक टेलिभिजन कार्यक्रममार्फत पाँच दिनभित्र पार्टीको सिनारियो बदलिने बताएका थिए ।