एजेन्सी । अफगानी सहर कान्दाहारको सडकमा बम विस्फोट हुँदा चार सर्वसाधारणको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। सर्वसाधारणलाई नै लक्ष्य गरेर त्यहाँ बम राखिएको बताइएको छ। बिहीबार सडकको किनारमा राखिएको बम अकस्मात विस्फोट हुँदा बाटो हिँडीरहेका सर्वसाधारण नागरिकको ज्यान गएको हो। .
अफगानिस्तानको टोलो न्युजलाई उद्धृत गर्दै न्युज एजेन्सी एएनआईले दिएको समाचार अनुसार कान्दाहारको पन्जावी जिल्लाको एक बाटोमा राखिएको बम अकस्मात विस्फोट भएको थियो। सो बम अफगानिस्तानका तालिबानी लडाकुहरुले राखेको अनुमान गरिएको छ।
तालिबानी लडाकुहरुले यसअघि पनि सर्वसाधारणलाई लक्ष्य गरेर सडक किनारमा बम राख्ने गरेकोले यो बम पनि उनीहरुले नै राखेको अनुमान गरिएको हो। तर यो विस्फोटको जिम्मा हालसम्म कसैले पनि लिएको छैन। यसअघि पनि यही अगष्ट ९ मा सोही स्थानमा भएको बम विस्फोटमा परी कम्तीमा पनि ९ जनाको ज्यान गएको थियो।