प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद नआएपछि प्रदेश १ को प्रदेशसभा बैठक स्थगित भएको छ ।
मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक भोलि विहान साढे ११ बजेसम्मका लागि स्थगित भएको हो ।
नेकपा एमालेले भने विप्लव समूहको बन्दका कारण सांसदहरु आउन नसक्ने भन्दै बैठक स्थगित गर्न माग गरेको थियो । तर कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ गठबन्धनमा रहेका दलहरुले बैठक रोक्न सहमत भएनन् ।
त्यसपछि बसेको बैठकमा विपक्षी दल नेकपा एमालेका एक जना पनि सांसद सहभागी नभएपछि सभामुख प्रदीपकुमार भण्डारीले बुधबार साढे ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
प्रदेशसभा बैठक स्थगित गरेकामा मुख्यमन्त्री राजेन्द्र राईले सभामुख प्रदीपकुमार भण्डारीप्रति असन्तुष्टि जनाएका छन् । उनले नेकपा एमालेको निर्देशनमा प्रदेशसभा बैठक स्थगित गरेको आरोप लगाए ।
‘विहानसम्म मसँग प्रोसिड्युर (विश्वासको मत लिने प्रक्रिया) बारे छलफल गर्नुभएको थियो, एमालेको तर्फबाट खबर आएपछि निर्णय वा निर्देशन अनुसार यो काम गर्नुभएको छ ।
यो राम्रो भएन’ मुख्यमन्त्री राईले भने । नेकपा एमालेले सभामुख भण्डारीलाई आफ्नो सांसदमा गणना गर्ने गरेको भन्दै मुख्यमन्त्री राईले सभामुखले पनि त्यो कुरा व्यवहारमा देखाएको टिप्पणी गरे ।
विश्वासको मत लिने प्रक्रिया मुख्यमन्त्रीले आफ्नो अनुकुल समयमा लिन पाउनुपर्ने भए पनि एमालेले दुख दिन मात्र खोजेको बताए ।