श्रम तथा रोजगारमन्त्री कृष्णकुमार श्रेष्ठले ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमा अनुगमन गर्दै सेवा प्रवाहलाई चुस्त र छरितो बनाउन निर्देशन दिएका छन् ।
बुधबार आकस्मिक अनुगमनका क्रममा वैदेशिक रोजगार कार्यालय पुगेका मन्त्री श्रेष्ठ समक्ष सेवाग्रहीको धेरै गुनासो आएपछि सेवा प्रवाहलाई चुस्त र छरितो बनाउन निर्देशन दिएका हुन् ।
करिब दुई घन्टाको अनुगमनका क्रममा मन्त्री श्रेष्ठले कार्यालयबाट हुने गरेका सवै कामहरुको बारेमा जानकारी लिएका थिए । अनुगमनपछि मन्त्री श्रेष्ठले बिहीबारबाटै सेवा प्रवाहमा सुधार गर्ने गरि काम गर्न निर्देशन दिएको जानकारी दिए ।
त्यस्तै, टोकन सिष्टममा देखिएका समस्या समाधानलागि पनि उनले निर्देशन दिएका छन् । श्रमिहरुलाई नियतबस दुःख दिने कुनै पनि काम नगर्न निर्देशन दिँदै सेवा प्रवाहमा कुनै कानुनी झनझटहरु भए समाधान गर्ने मन्त्री श्रेष्ठले बताए ।
मन्त्री श्रेष्ठको अनुगमनका क्रममा सेवाग्रहीले भने एउटै कामका लागि दुई तीन दिन लाग्ने गरेको र यसका कारण पूर्वनिर्धारित उडान छुट्ने देखिएको गुसानो गरेका थिए ।
टोकन दिन दुई दिनसम्म पनि धाउदा नपाएको गुनासो उनीहरुको छ । अनुगमनपछि मन्त्री श्रेष्ठले सेवा प्रवाहमा सुधारका काम नभए कारवाही गर्ने चेतावनी दिएका छन् ।