सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दलोनरत कानुन व्यवसायीहरुको ज्यानमाथि आक्रमणको खतरा बढेको छ ।
कानून व्यवसायीहरुले कात्तिक १४ गतेदेखि निरन्तर सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीशविरुद्ध शान्तिपुर्ण (धर्ना) विरोध प्रदर्शन गर्दै आइरहेका छन् । यसैबीच जबराविरुद्ध आज (बिहीबार)को प्रदर्शनमा सहभागी भएर कानून व्यवसायीहरुले नेपाल बार एशोसिएसनको कार्यालयमा भेला भएका थिए ।
तर, केही अपरिचित व्यक्तिहरु नेपाल बारको कार्यालय परिसरमा प्रवेश गरी कानून व्यवसायीहरुलाई गालीगलौज र धम्कीको भाषा प्रयोग गरेका छन् । कानून व्यवसायीहरु प्रतिकारमा उत्रिएपछि तीनीहरुका भागेका थिए । एक जनालाई भने प्रहरीहरुले नै कानून व्यवसायीहरुबाट छुटाएर भगाएका थिए ।
उनीहरु को हुन् एकीन भइसकेको छैन । कानून व्यवसायीहरु भने आफूहरुविरुद्ध परिचालित ‘भिजिलान्ते’ भएको बताएका छन् । उनीहरुले अश्लील शब्द प्रयोग गर्दै आन्दोलनरत कानून व्यवसायीहरुलाई गाली गरेका थिए ।
उनीहरुलाई कालो कोटधारी कानून व्यवसायीहरुले बार परिसरबाट बाहिर जान भने पनि उनीहरु अटेर गर्दै गालीगलौज गरिराखेका थिए ।
त्यसपछि कानून व्यवसायीहरु उनीहरुविरुद्ध जाइलाग्न खोजेपछि दुई जना युवा भागेका थिए ।
उनीहरु को हुन् भन्ने स्पष्ट हुन बाँकी छ । एकजना कानून व्यवसायीले भने उनीहरु प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध जारी आन्दोलन बिथोल्न परिचालित ‘भिजिलान्ते’ भएको दावी गरेका छन् ।
कानुन व्यवसायीहरुले सर्वोच्च परिसरभित्र प्रदर्शन गरिरहँदा एक समूहले पनि प्रधानन्यायाधीश शम्सेर जबराको पक्षमा सर्वोच्च अदालत परिसर बाहिर प्रदर्शन गर्दै आएका छन् ।
प्रधानन्यायाधीश जबराविरुद्ध सर्वोच्च अदालत परिसरमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका कानून व्यवसायीलाई रोक्न हतियारसहितका प्रहरी खटाइएको छ । प्रहरीले एसएलआर बोकेका थिए ।
उनीहरु अग्रमोर्चामा रहेका प्रहरीको सहयोगका लागि पछाडिपट्टी तैनाथ भएका थिए । एसएलआर बोकेका टोलीमा एसटीएफ (स्पेशल टास्क फोर्स) लेखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको सुरक्षामा पनि स्पेशल टास्क फोर्स खटिएको हुन्छ । वकिलहरुको प्रदर्शनमा एसएलआरसहितको प्रहरी टोली देखिएको यो पहिलोपटक हो ।
प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलनमा दंगा प्रहरी हटाउन कानुन व्यवसायीहरुले माग गरेका छन् । बिहीबारको आन्दोलनमा ठुला–ठुला हतियार बोकेको दांगा प्रहरी परिचालन गरिएको भन्दै कानुन व्यवसायस्हरुले भोलिदेखि यस्तो नगर्न खबरदारी गरेका हुन् ।
आजको आन्दोलनको कार्यक्रमलाई सम्बोधन गर्ने गर्दै बार एसोसिएसनका केन्द्रीय सदस्य खिमानन्द अधिकारीले हतियारसहितको प्रहरी हटाउन उनले माग गरे । यदि नहटाएको अवस्थामा प्रहरीको गोली खानसमेत तयार रहेको तर आन्दोलनबाट पछि नहट्ने उनीहरुको भनाई छ ।
“दंगा प्रहरी यहाँबाट हटाइयोस् । नहटाए गोली खान तयार छौँ । तर, आन्दोलन रोकिँदैन,” उनले भने । आफूहरुको शान्तिपूर्ण आन्दोलनमा एसएलआर हतियारसहितको प्रहरी खटाइएको भन्दै कानुन व्यवसायीहरुले विरोध जनाएका छन् । आन्दोलनका क्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएका छन् ।
सर्वोच्च अदालत परिसारमा आज भएको आफुहरुको शान्तिपुर्ण धर्नामा प्रहरीले बल प्रयोग गरेपछि बारका पदाधिकारीको आकस्मिक बैठक बसेको छ । प्रहरीको बल प्रयोगबारे छलफल गर्न बारले आकस्मिक बैठक बोलाएको हो ।
विरोध प्रदर्शनका क्रममा सुरक्षाकर्मीले बल प्रयोग गरेको, हतियारधारी प्रहरी अदालतमा तैनाथ गरेको र बारका सदस्या घाइते भएको लगायतको विषयमा छलफल गर्न नेपाल बारको आकस्मिक बैठक जारी छ ।
नेपाल बारका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईका अनुसार बैठकमा नेपाल बार, सर्बोच्च अदालत बार र उपत्यकाका उपलब्ध बार इकाईका पदाधिकारीहरू सहभागी रहेको छ ।