नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले शिष्टाचार भेटघाट गरेका छन् ।
आज (शुक्रबार) सिंहदरबारमा भएको भेटमा अमेरिकी सहायक विदेशमन्त्री लुले प्रचण्डलाई अमेरिकी सहयाेग परियाेजना मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) बारे चासो राखेका छन् । भेटको क्रममा उनले छिटो निर्णयमा पुग्न आग्रह गरेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
विदेशमन्त्री लुले प्रचण्डलाई अनुदान सहयोग लिने वा नलिने बारेमा नेपाल छिट्टै निर्णयमा पुग्नुपर्नेमा जोड दिएको मल्लले जानकारी दिए । यति निर्णयमा पुग्न नसकेको खण्डमा सहयोग फिर्ता लैजाने पनि बताएका छन् । यस्तै लुले उक्त एमसीसीलाई सहयोगमा सम्झौता नगरे अमेरिकाले अबदेखि हुने अन्य सहयोग गर्न नसक्ने पनि बताएको मल्लले जानकारी दिए ।
जबाफमा प्रचण्डले यसबारे राष्ट्रिय सहमति बनाएर निर्णय गर्ने जबाफ दिएको मल्लको भनाइ छ । प्रचण्डले अमेरिकी सहयोग लिन्नौं भन्ने आफ्नो धारणा नभए बताएका थिए । एमसीसीमा उल्लेखित केही प्रावधान नेपालमा विवादको विषय बनेको भन्दै प्रचण्डले भने, “सहयोग लिन्छौं तर एमसीसीको बारेमा तयार पारिएको सुरुवाती दस्तावेजलाई पछि संशोधन गरिएको रहेछ,” प्रचण्डको भनाइ उद्धृत गर्दै मल्लले भने ।
“संसदबाट पारित गर्नुपर्ने लगायतका विषय राखिएकोलेयो नेपालमा विवादको बनेको छ र यसमा हाम्रा पनि केही प्रश्नहरु छन् ।” एमसीसीबारे सबै पक्षको एउटा साझा समझदारी बनाउने प्रयास भइरहेको बताए ।
“हामी सबै नेपालीहरुले एउटा साझा समझदारी बनाउने प्रयास गर्छौं, छलफल गर्छौं,” उनले भने, “एमसीसीबारे दलहरुले आफ्नो मत संसदभित्रै राख्ने अवस्था पनि आउन सक्छ ।”
स्वकीय सचिव मल्लका अनुसार प्रचण्डले एमसीसीको विषयमा माओवादी केन्द्रले नेपालका सबै पक्षसँग छलफल गरेर साझा समझदारी बनाउने बताए । मल्ले भने, “अध्यक्ष प्रचण्डले सुरुवाती दस्तावेजलाई नै अगाडि बढाउन सकिए यसबारे साझा समझदारी बनाउन सजिलो हुने धारणा राख्नुभयो ।”