सन्तोष क्षेत्री-दोहा, कतार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि एकपटक माओवादी प्रति जनताको आकर्षण बढेको बताउनुभएको छ ।
नेपाली जनप्रगतिशील मञ्च कतारको पाचौं अधिवेशनको शुक्रबार भर्चुअल माध्यमबाट उद्घाटन गर्दे प्रचण्डले पछिल्ला राजनैतिक घटनाक्रममा देश र जनताको पक्षमा माओवादीले लिएको अडानको कारण माओवादी प्रती आकर्षण बढेर पुनः एक पटक २०६४ को अबस्थामा पुग्न लागेको बताउनुभयो ।
प्रतिगमनलाई परास्त गर्दे देशलाई प्रगति तर्फ लैजाने क्रममा शुरु भएको भन्दै प्रचण्डले देशलाई प्रगति तर्फ लैजान पुनः एक पटक माओवादीको नेतृत्व आवश्यक रहेको बताउनुभयो ।
प्रचण्डले प्रतिक्रियावादी र प्रतिगमनकारीले जनतालाई केहि समय भ्रमित गर्ने कोसिस गरेपनि आम उत्पीडित वर्गको पक्षमा काम गर्ने माओवादी नै रहेको बताउनुभयो ।
हिमाल, पहाड, तराई सबैतिर आकर्षण देखिएको र हालसम्म ८ लाख बढी संगठित सदस्य भैसकेको र केही दिनमा १० लाख पुग्ने भन्दै उहाँले आगामी पुसमा हुने पार्टीको राष्ट्रिय सम्मेलनबाट पार्टी थप सुदृढ भएर अगि बढने बताउनुभयो ।
पुर्वप्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले बिदेशमा सिकेको सीप र आर्जन गरेको पुजिलाई सदुपयोग गर्दै नेपालमै रोजगारीको सिर्जना, समृद्धि र समाजवादको नयाँ मोडल बनाउने कार्यमा पनि पार्टी लागिपर्ने बताउनुभयो ।
प्रचण्डले देश/बिदेशमा रहेका सबै नेपालीले चासो राखेको एमसीसी माथी उठेका प्रश्नहरुको हल नभएसम्म पारित हुन नसक्ने बताउनुभयो ।
उहाले आफूहरु अमेरिकी सहयोगको पक्षमा भएपनि एमसिसि माथी उठेका प्रश्नहरुको हल भने खोजिनुपर्ने बताउनुभयो ।