नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा नआएसम्म देशव्यापी आन्दोलन गर्ने भएको छ । शुक्रबार बसेको एसोसिएसनको बैठकले चरणबद्ध रुपमा देशव्यापी हुने आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
उक्त निर्णय अनुसार निर्धारित आन्दोलनका कार्यक्रमबारे शनिबार एक विज्ञप्तिमार्फत बार महासचिव लीलामणि पौडेलले जानकारी दिएका हुन् ।
उनका अनुसार शान्तिपूर्ण धर्ना तथा विरोधमा पनि अदालतभित्रै अत्याधुनिक हतियारसहितका दंगा प्रहरी प्रवेश गराउने र कानुन व्यवसायीमाथि बर्बर आक्रमण गर्ने कार्यको बारले निन्दा गरेको छ ।
आन्दोलनका नयाँ कार्यक्रमअनुसार भोलि आइतबार बन्दी प्रत्यक्षीकरणबाहेकका कुनै पनि मुद्दामा बहस तथा पैरवी नगर्ने बारको निर्णय छ ।
यसैगरी, सोमबार बिहान १० देखि १२ बजेसम्म देशभरका अदालतमा कालोपट्टी बाँधेर धर्ना तथा विरोध सभा गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी, मंगलबार हतम्याद गुज्रिने अवस्थाको अन्तिम म्यादको बाहेक कुनै पनि अदालत, न्यायाधीकरणहरूमा फिराद, प्रत्युत्तर, पुनरेदन रिट, लिखित जवाफ, बहस नोट केही पनि दर्ता नगर्ने, बुधबार नेपालका १८ वटा उच्च अदालत तथा उच्च अदालतका इजलास रहेका स्थानमा बृहत् विरोध सभा गर्ने, बिहीबार र शुक्रबार काठमाडौं उपत्यकाका सबै बार इकाइका सदस्यको सहभागितामा सर्वोच्च अदालत केन्द्रित विरोध कार्यक्रम गर्ने विज्ञप्तीमा जनाइएको छ ।