Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै भिम रावलले ओलीलाई भने- ‘ममाथि भरोसा गर्नुस्

अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै भिम रावलले ओलीलाई भने- ‘ममाथि भरोसा गर्नुस्

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ५, २०७८ आइतवार • १६:०१:०९ बजे
  • 790
    SHARES
  • अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै भिम रावलले ओलीलाई भने- ‘ममाथि भरोसा गर्नुस्

    नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरण गर्छु भनेपछि आगामी १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा अग्रसर भएको बताएका छन् ।

    images

    रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनमार्फत औपचारिक उम्मेदवारी घोषणा गर्दै उपाध्यक्ष रावलले ओलीको योग्यता, क्षमता जनताले देखिसकेको र नेतृत्व हस्तान्तरण गर्ने घोषणापछि आफू अघि सरेको उल्लेख गरेका छन् ।

    ओलीले ७० बर्षको उमेरसम्म आइपुग्दा पार्टीको अध्यक्ष र देशको प्रधानमन्त्रीसमेत भई महत्वपूर्ण जिम्मेवारी बहन गरिसकेको भन्दै रावलले यस क्रममा देश र जनताको लागि उनले गर्नसक्ने काम आफ्नो सम्पूर्ण क्षमता, योग्यता, सक्रियता र लगनका साथ गर्दै देश र जनता सबैले देखिसकेको उल्लेख गरेका छन् ।

    ‘उहाँ स्वयंले केही समय पहिले पार्टीको नेतृत्व हस्तान्तरण गर्ने र पुनः अध्यक्ष पदमा प्रतिस्पर्धा नगर्ने घोषणा पनि गर्नुभएको हो । उहाँको यस्तो कार्य र घोषणाको सम्मानको लागि पनि उमेर र अनुभव लगायत सबै दृष्टिबाट परिपक्व भइसकेकोले मैले केन्द्रीय कमिटीको अध्यक्ष पदका लागि अग्रसर हुनु उचित सम्झेको छु रावलले भनेका छन् ।

    पार्टीमा फुट भएको बेला अरुबाट परिस्थितिको सामना गर्न केही कठिनाई हुन्छ कि भन्ने लागेको भए त्यसबारे आफूमाथि भरोसा गरी ढुक्क हुन रावलले ओलीलाई आग्रह गरेका छन् । ‘मैले अध्यक्ष पदको जिम्मेवारी पाएँ भने उहाँको महत्वपूर्ण अनुभव, ज्ञान र दक्षतालाई जहिले पनि पार्टीको विकास, विस्तार र सफलताका लागि सदुपयोग गरिरहन म सदा तत्पर रहने छु’, उनले भनेका छन् ।

    रावलले आफ्नो उम्मेदवारीलाई सहजरुपमा लिई पार्टीलाई नयाँ गतिका साथ अघि बढाउन आफूप्रति सद्भाव प्रदर्शन गर्न ओली तथा नेतृत्व तहमा रहेका सबै नेतालाई आह्वान गरेका छन् ।

    क) उद्देश्य र लक्ष्य

    १) राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, एकता, स्वाधीनता, स्वाभिमान र समृद्धिको लागि समग्र राजनीतिलाई दिशा दिने र राष्ट्रिय शक्तिका सबै स्रोतहरुलाई त्यसतर्फ अभिमुख गराउने ।

    २) जनताको बहुदलीय जनवादका स्वच्छ प्रतिस्पर्धा लगायत राष्ट्रियता, समाजवाद र जनजीविकासंग सम्बन्धित उद्देश्य र लक्ष्य हासिल गर्न योगदान पु¥याउने । नेपालको संविधानले समेत आत्मसात् गरेको समाजवाद उन्मुख प्रणालीको प्राप्तिका लागि उत्पादनका साधन र उत्पादन प्रणालीलाई तद्नुकूल तुल्याउन तथा दलाल नोकरशाही पूँजीवादको चंगुलबाट जनता र देशलाई मुक्त गर्न भूमिका निर्वाह गर्ने ।

    ३) पार्टीको वैचारिक, राजनीतिक र नीतिगत धरातललाई अझ स्पष्ट र समय सापेक्ष बनाउनुका साथै आन्तरिक एकतालाई सुदृढ तुल्याउँदै पद्धतिसंगत संचालनमा नेतृत्व प्रदान गर्ने । पार्टी गुट र उपगुटहरुबाट ग्रस्त रहने स्थितिलाई परिवर्तन गरी विषयवस्तु तथा गुण र दोषको आधारमा धारणा र मत प्रकट गर्नसक्ने स्थिति निर्माण गर्ने । पार्टीमा देखिएका अन्तरविरोध र समस्याहरुको निराकरण गरी अन्य वामपन्थी दल, समूह र व्यक्तिहरुसंगको सहकार्यको वातावरण सिर्जना गर्ने । पार्टी एकीकरणदेखि नेकपाको विघटन, नेकपा (एमाले) मा उत्पन्न फुट तथा सरकार निर्माण र बर्हिगमन लगायतका राजनीतिक घटना र प्रभावसमेतको बस्तुनिष्ट समीक्षा गर्दै प्राप्त शिक्षालाई ग्रहण गर्ने ।

    ४) राष्ट्रिय एकता तथा वामपन्थी पार्टी र समूहहरु बीचको एकता तथा पारस्परिक समझदारीमा अभिबृद्धि गरी राष्ट्रिय राजनीतिलाई देश र जनताको सर्वोपरी हितमा केन्द्रित गर्ने । लोकतान्त्रिक पार्टी र व्यक्तिहरु बीच देश र जनताको वृहत्तर हितका सम्बन्धमा समझदारी, सहकार्य र एकता कायम गर्न भूमिका खेल्ने ।

    ५) पार्टीपंक्तिको सैद्धान्तिक, वैचारिक चेतना र ज्ञानलाई परिवर्तित राष्ट्रिय र विश्व परिवेश अनुरुप विस्तारित र पुनर्गठित गर्दै समस्या समाधान केन्द्रीत अध्ययन, अनुसन्धान र उपायको खोजीलाई महत्वका साथ अगाडि बढाउने ।

    ६) पार्टीमा उत्पन्न आन्तरिक अन्तरविरोध, समस्या र असमझदारीलाई व्यवस्थापन र समाधान गरी पार्टीलाई विधि, पद्धति र लोकतान्त्रिक प्रक्रियाबाट सशक्त रुपमा अगाडि बढाउँदै आगामी स्थानीय तथा आम निर्वाचनमा विजयको अग्रपंक्तिमा पु¥याउने ।

    ७) नेपालको संविधान र जनताको बहुदलीय जनवादको मार्ग निर्देशन अनुरुप संयुक्त राष्ट्र संघको बडापत्र, असंलग्नता र पञ्चशीलका सिद्धान्तहरुलाई आत्मसात् गर्ने स्वतन्त्र एवम् राष्ट्रिय हितमा आधारित अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति सञ्चालनमा पार्टीको भूमिकालाई सशक्त बनाउने ।

    ८) राष्ट्रिय र पार्टी राजनीतिलाई देशको विकास र उन्नति तथा जनताको आर्थिक समृद्धिका राष्ट्रिय हित अनुकूलका सबै सम्भावनाहरुको खोजी र सदुपयोगको दिशातर्फ डो¥याउने । केन्द्रदेखि स्थानीय तहसम्म भइरहेको भ्रष्टाचार र बेथिति एवम् राजनीति र राज्य सञ्चालनमा व्याप्त भ्रष्टाचारका विरुद्ध कानूनी तथा जनमत परिचालन दुबै किसिमले अभियान चलाउने ।

    ९) कोरोना विषाणुको महामारीबाट सिर्जित आर्थिक समस्याको समाधान तथा आर्थिक पुनरुत्थानका लागि  ठोस कार्यक्रम र योजनालाई अगाडि बढाउने ।

    १०) जलवायु परिवर्तनका कारण अत्यन्त जोखिमयुक्त नेपालको अवस्थालाई गम्भीर रुपमा लिई त्यसबाट उत्पन्न हुने प्राकृतिक विपत्तिको न्यूनिकरण र सामना गर्नेतर्फ राष्ट्रिय जागरण सिर्जना गर्नुका साथै पार्टी र  समग्र राष्ट्रिय राजनीतिलाई दिशा निर्देश गर्ने । 

    ११) विगतमा भएका राष्ट्रिय हित प्रतिकुलका र असमान सन्धि–सम्झौताहरुको पुनरावलोकन गरी तिनको खारेजी वा विस्थापनको लागि ठोस योजनाका साथ काम गर्ने । नेपालको संविधान नागरिकतासम्बन्धी कानून ल्याउन तथा गैर नेपालीहरुलाई नागरिकता बाँडेर जनसंख्याको राजनीतिद्वारा नेपालको अस्मिता र स्वाधीनतामा आँच पु¥याउने कार्यलाई रोक्न अग्रसर रहने । 

    १२) नेपालको कूटनीतिक क्षमता वृद्धिलाई राष्ट्रिय विकास र सुरक्षाको  महत्वपूर्ण क्षेत्रको रुपमा उच्च महत्व दिई त्यसका लागि सबै सम्भव उपाय र स्रोतको सदुपयोग गर्ने । 

    ख) मान्यता

    १) वर्तमान विश्वका अधिकांश सार्वभौम र स्वतन्त्र देशका राजनीतिक दल र नेताहरुले आफ्नो राष्ट्रिय स्वतन्त्रता, स्वाभिमान र हितलाई सर्वोपरी राखे झैं नेपाल सरकार, राजनीतिक दल र नेताहरुले राष्ट्रिय स्वाधीनता, स्वाभिमान, सुरक्षा र हितलाई सर्वोपरी राखेर काम गर्ने । नेपालको संविधान, मौलिक सभ्यता, संस्कृति र इतिहासको संरक्षण र संवद्र्धन गर्नेे । 

    २) जनशक्ति लगायत देशको सबै साधन र स्रोतलाई राष्ट्र हितमा पूर्ण सदुपयोग र परिचालन गर्ने । आफ्नो देश र जनताको हितको पक्षमा उभिदा कोही खुसी नहोला कि भन्ने मानसिकताबाट पूर्णतः मुक्त रही क्रियाशील रहने । आफ्नो देशको पक्षपोषण गर्नु अरु कसैको विरोध गर्नु वा कसैप्रति अमैत्री हुनु होइन भन्नेमा सबैलाई स्पष्ट तुल्याउने ।

    ३) इतिहासको उत्तरदानका रुपमा रहेका नेपालको स्वाधीनता, स्वाभिमान र हितमा आँच पु¥याउने असमान सन्धि–सम्झौताबाट मुक्त हुनुका साथै त्यस्ता किसिमका सन्धि–सम्झौता नहुने  र हुन नदिने  दिशामा दृढताका साथ अग्रसर रहने । सबै मित्र राष्ट्रहरुसंग सुमधुर सम्बन्ध कायम गर्न सार्वभौमिक समानता, पारस्परिक हित र सम्मानको दिशामा कुटनीति सञ्चालन गर्ने । राजनीतिक दलहरुका बीच राष्ट्र र जनताको हितका विषयमा साझा धारणाका साथ सहकार्य गर्ने वातावरण निर्माण गर्न र परराष्ट्र नीतिमा समान विचार–दृष्टिकोणका साथ प्रस्तुत हुने स्थिति सिर्जना गर्न भूमिका खेल्ने ।

    ४) नेपाली जनताको कष्टसाध्य अभ्यासबाट स्थापित नेपालको संविधान लोकतान्त्रिक प्रणालीलाई जनहित, सुशासन, विकास र समृद्धिको दिशामा सञ्चालन गर्ने ।

    ५) राजनीतिक दललाई देशको कानून तथा दलका घोषित सिद्धान्त, कार्यक्रम, नीति र निर्णयको आधारमा सञ्चालन गर्ने । अधिवेशन र निर्वाचनमा गरिएका बाचा र प्रतिबद्धता विपरीत राजनीतिलाई सत्ता स्वार्थको खेलमा परिणत गर्ने गलत राजनीतिक संस्कृति, आचरण र व्यवहारको अन्त्यका लागि सक्रिय भूमिका निर्वाह गर्र्ने ।

    ६) नेपाल कम्युनिष्ट पार्टीको स्थापनाकालदेखि नेकपा (एमाले) क्रियाशील रहेको वर्तमानसम्म पार्टीले अंगिकार गरेको माक्र्सवाद–लेनिनवादलाई नेपालको वस्तुस्थिति अनुरुप सिर्जनात्मक रुपमा लागु गर्ने विषयलाई पुनःपरिभाषित गर्दै समयका चुनौतीहरुको सामना गर्नसक्ने तथा देशको आवश्यकता र जनताको आकांक्षा अनुरुप अगाडि बढ्ने । संसदीय निर्वाचनका सबै मोर्चामा नेकपा (एमाले) लाई राष्ट्रिय हितमा आधारित स्पष्ट दृष्टिकोणका साथ सशक्त रुपमा अगाडि बढाउँदै विजयी बनाउने र केन्द्र, प्रदेश र स्थानीय तहमा बहुमत प्राप्त गरी देशलाई निर्दिष्ट दिशामा दृढताका साथ नेतृत्व प्रदान गर्ने ।

    ७)  पार्टीलाई विधि, पद्धति, सामुहिक निर्णय र व्यक्तिगत जिम्मेवारीको प्रणाली अनुरुप सञ्चालन गर्ने । पार्टी कमिटी र जनसंगठनको सञ्चालन घोषित सिद्धान्त, पद्धति र लक्ष्य अनुरुप गर्ने र अन्तरविरोध तथा समस्याहरुको यथासमयमा समाधान गर्दै संगठनलाई क्रियाशील र सशक्त तुल्याउने । शीर्ष कार्यकारी तहको नेतृत्वपंक्तिबाट नै गुटबन्दी हुने कार्यले पार्टीको शक्ति र प्रभावलाई कमजोर पार्दै अन्ततः फुटको दिशामा धकेल्ने तथ्यको पुष्टि भइसकेकोले गुटबन्दीबाट पार्टीलाई मुक्त गरी यसको समग्र क्षमताको सुदपयोग हुने र विषयवस्तुमा विवेकसम्मत किसिमले छलफल हुने स्थिति निर्माण   गर्ने । निर्णय प्रक्रिया संस्थागत नहुने र केही व्यक्ति–समूह हुँदै व्यक्तिमा केन्द्रित हुने स्थितिको अन्त्य गर्ने ।

    ८)  व्यक्तिको मूल्याङ्कन र जिम्मेवारी प्रदान गर्ने कार्य, दिइएको जिम्मेवारी बहन गरी प्राप्त गरेको सफलता र उपलब्धि, योग्यता, क्षमता र इमान्दारीको आधारमा गर्ने ।

    ९) पार्टीको आम सिद्धान्त, कार्यक्रम र नीतिको आधारमा देशभक्तिको भावनका साथ समसामयिक विषयमा स्पष्ट धारणा बनाई त्यसको कार्यान्वयन गर्न अग्रसर रहने । पार्टीले विगतदेखि अवलम्बन गर्दै आएको असमान सन्धि–सम्झौताको खारेजी र परिवर्तन, नेपालको जलस्रोत लगायतका प्राकृतिक स्रोतहरुको नेपालको विकासमा सदुपयोग, नेपालका अतिक्रमित भूभाग र अन्तर्राष्ट्रिय कानून बमोजिम संरक्षण तथा नियमन गर्नुपर्ने सिमानाबारे राष्ट्रको रक्षा र सुरक्षालाई ध्यानमा राख्दै स्पष्ट धारणासहित आम राष्ट्रिय दृष्टिकोणका साथ उपयुक्त पाइला चाल्ने, प्रशासन, सुरक्षा निकाय लगायत राज्यका सबै अंगहरुले राष्ट्रिय हित र स्वाधीनतालाई उच्चस्थानमा राखेर कर्तव्य निर्वाह गर्ने स्थिति सिर्जना गर्न क्रियाशील रहने ।

    १०) नेपाल सरकार र अमेरिकी संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संग भएको सम्झौतामा रहेका राष्ट्रिय स्वाधीनता र हितमा आघात पु¥याउने प्रावधानहरु हटाउने र नहटाइने भए  सम्झौता नै खारेज गर्ने । नेपालको हित, स्वाधीनता, परराष्ट्र नीति र सुरक्षामा आघात पु¥याउने प्रावधानहरुलाई  नेपाल सरकार र जनता सामु स्पष्ट किसिमले राख्ने । मूल सम्झौता संगै भएका कार्यान्वयन सम्झौता लगायतका सम्झौताहरु संसद र जनसमक्ष पारदर्शी रुपमा ल्याउन भूमिका   खेल्ने ।

    ११) विशिष्ट र संवेदनशील भूराजनीतिक अवस्थितिमा रहेको नेपालको तत्कालीन र दीर्घकालीन हित र सुरक्षाप्रति सचेत रहँदै तद्अनुरुप राष्ट्रिय सुरक्षा नीतिको कार्यान्वयन गर्न र त्यस प्रयोजनका लागि सबै किसिमको राष्ट्रिय शक्तिको सुदृढिकरण र परिचालनका लागि क्रियाशील रहने ।

    १२) देशको समग्र राजनीति, अर्थतन्त्र (सबै क्षेत्रको विकास रणनीति समेत), संस्कृति र शिक्षालाई राष्ट्रिय विकास र हित अनुकूलको दिशामा अघि बढाउन सशक्त भूमिका निर्वाह गर्न पार्टीलाई नेतृत्व प्रदान गर्ने । पिछडिएका बर्ग, समुदाय र क्षेत्रको उत्थानलाई राष्ट्रिय विकासको महत्वपूर्ण आधारका रुपमा लिदै सबै राष्ट्रिय एकताको आधारलाई बलियो बनाउने । 

    १३) सदस्यता वितरण, नविकरण र प्रतिनधि चयनमा पार्टीको विधान, पद्धति, मान्यता र असल परम्परा विपरीत सदस्यहरुको चुन्न र चुनिन पाउने सार्वभौम अधिकार कुण्ठित गर्ने क्रियाकलापहरु पुनः दोहोरिन नदिने । महाधिवेशन हुन ६ महिना अघि सदस्यता प्राप्त व्यक्तिले मात्र प्रतिनिधि चुन्न र चुनिन पाउने लगायतका पार्टी निर्देशन विपरीत प्रतिनिधि चयनको प्रक्रिया आरम्भ हुनु दुई दिन अघिसम्म सदस्यता वितरण गर्ने, प्रतिनिधिको निर्वाचनको प्रक्रिया आरम्भ नगर्ने, कुनै सहमति नभई  र चुनावको काम नै नभई प्रतिनिधिको नाम मनपरी किसिमले घोषणा गर्ने जस्ता पार्टीको मर्यादामा आघात पु¥याई संगठनलाई क्षति पु¥याउने किमिसका क्रियाकलाप हुननदिने ।

    १४) मैले कम्युनिष्ट पार्टी र निरंकुश पञ्चायत विरोधी आन्दोलनमा समाहित भएदेखि शान्ति प्रक्रिया, संविधान निर्माण र पार्टी एकताको लागि विभिन्न कार्यमा संलग्न हुँदा निश्चित विचार, आदर्श,     मूल्य–मान्यता, नीति र दृष्टिकोणका साथ आफुलाई उभ्याएको छु । यस्ता विषयहरु प्रति वर्तमान पार्टी पंक्तिका साथै आम जनता तथा भविष्यको पुस्तामा चेतना र सजगताको प्रसारण हुनसकेमा मेरो उम्मेदवारीको सार्थकता रहनेछ । यही सोचका साथ म अगाडि बढेकोे छु ।  

    १५) पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले ७० बर्षको उमेरसम्म आइपुग्दा पार्टीको अध्यक्ष  र देशको प्रधानमन्त्री समेत भई महत्वपूर्ण जिम्मेवारी वहन गरिसक्नु भएको छ । यस क्रममा उहाँले देश र जनताको लागि गर्नसक्ने काम आफ्नो सम्पूर्ण क्षमता, योग्यता, सक्रियता र लगनका साथ गर्दै देश र जनता सबैले देखिसकेका छन् । उहाँ स्वयंले केही समय पहिले पार्टीको नेतृत्व हस्तान्तरण गर्ने र पुनः अध्यक्ष पदमा प्रतिस्पर्धा नगर्ने घोषणा पनि गर्नुभएको हो । उहाँको यस्तो कार्य र घोषणाको सम्मानको लागि पनि उमेर र अनुभव लगायत सबै दृष्टिबाट परिपक्व भइसकेकोले मैले केन्द्रीय कमिटीको अध्यक्ष पदका लागि अग्रसर हुनु उचित सम्झेको छु । पार्टीमा फुट भएको बेला अरुबाट परिस्थितिको सामना गर्न केही कठिनाई हुन्छ कि भन्ने लागेको भए त्यसबारे ममाथि भरोसा गरी ढुक्क हुन उहाँलाई हार्दिक आग्रह गर्दछु । साथै मैले अध्यक्ष पदको जिम्मेवारी पाएँ भने उहाँको महत्वपूर्ण अनुभव, ज्ञान र दक्षतालाई जहिले पनि पार्टीको विकास, विस्तार र सफलताका लागि सदुपयोग गरिरहन म सदा तत्पर रहने छु । अतः मेरो अध्यक्ष पदको उम्मेदवारीलाई सहजरुपमा लिई पार्टीलाई नयाँ गतिका साथ अघि बढाउन मप्रति सद्भाव प्रदर्शन गर्नहुन कमरेड केपी शर्मा ओली एवम् सबै नेतृत्व तहमा रहनुहुने कमरेडहरु समक्ष हार्दिक आह्वान गर्दछु ।

    माथि उल्लेखित पृष्ठभूमि, लक्ष्य, उद्देश्य र मान्यताको आधारमा नेकपा (एमाले) को नेतृत्व गर्दै यस पार्टीलाई सुदढ र प्रभावकारी तुल्याउने, प्रतिस्पर्धाका सबै मोर्चाहरुमा पार्टीलाई सफल र विजयी बनाउने तथा राष्ट्रिय राजनीतिको प्रमुख चालकको रुपमा अगाडि बढाउने दृढ अठोट गरेको छु ।

    मैले  विजय र पराजयको अर्थमा भन्दा आफ्ना धारणा र मान्यतालाई महत्व दिएको छु तथा कुनै व्यक्ति विशेष प्रति कुनै आग्रह राखेको छैन । पार्टी एकताका लागि १०–बुँदे सहमति गरिरहँदा पनि मैले देश, जनता र पार्टीको हितका लागि अवलम्बन गर्दै आएको विचार कै पक्षपोषण गरेको हुँ, तिनलाई  परित्याग गरेको छैन वा कहीं समर्पण गरेको छैन । कुनैपनि पनि इमान्दार पार्टी नेताले त्यसो गर्नपनि सक्दैन ।

    यही विचार र मान्यता अनुरुप नै मैले आफ्नो उम्मेदवारीको घोषणा गरेकोे छु । अतः केन्द्रीय कमिटीको अध्यक्ष पदमा मेरो उम्मेदवारीप्रति सहयोग र समर्थनका लागि  नेकपा (एमाले) का सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुमा हार्दिक आह्वान गर्दछु । अध्यक्षको पदमा मलाई आफ्नो अमूल्य मत प्रदान गरी पार्टीलाई नयाँ चरणको प्रगति र सशक्त भूमिकामा अघि बढाउन तथा नेपाल  नेपाली जनताको आकांक्षा, प्रगति र परिवर्तनको नेतृत्व गर्ने अवसर दिनहुन सम्पूर्ण प्रतिनिधि कमरेडहरुलाई हार्दिक अनुरोध गर्दछु । 

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # भीम रावल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology