नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले पार्टीको आसन्न महाधिवशेनका विषयमा छलफल गर्न खोज्दा पार्टीभित्र कसैले पनि रुची नदेखाएको गुनासो गरेका छन् ।
सोमबार ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सञ्चारकर्मीसँग कुरा गर्दै रावलले उपाध्यक्षको हैसियतले आफूले १०औँ महाधिवेशनको प्रक्रियामा विषयका अध्यक्ष केपी शर्मा ओली र स्थायी कमिटी बैठकमा छलफल गर्न चाहे पनि रुची नदेखाएको गुनासो गरेका हुन् ।
यसअघि महाधिवेशनको एक/दुई महिना अघि नै उम्मेदवारका विषयमा छलफल हुने भए पनि यसपटक त्यसो हुन नसकेकाले लक्ष्य र उद्देश्य स्पष्ट पारेर अध्यक्ष पदमा उम्मेदवारीरी घोषणा गरेको उनले बताए ।
उनले एमाले बचाउन र एमालेलाई बलियो बनाउँदै आगामी चुनावमा विजयी गराउन आफ्नो भूमिका हुने जिकिर गरे । यसपटक पार्टीले नै समूहगत रुपमा उम्मेदवारी नदिने निर्णय गरेकाले आफूले एक्लै उम्मेदवारी दिएको भन्दै रावलले पार्टी रुपान्तरणमा लाग्ने सबैले साथ दिने दाबी गरे ।
एमालेको स्थायी कमिटी बैठकका लागि रावललगायतका नेताहरु तुल्सीलाल स्मृति प्रतिष्ठानमा पुगेका थिए तर एमाले अध्यक्ष ओली बिरामी भएका कारण बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ ।