प्रधानमन्त्री शेरबहादुर देउवाले भोलीका दिनमा जनताले दुःख र कष्ट नपाउन् भनेर राजनीतिक दलले सचेत हुनुपर्ने बताएका छन् ।
चितवनमा आज आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री देउवाले हिजोका दिनहरुमा आफुहरुले धेरै जेलनेल, दुःख कष्टहरु भोगेका कारण अब भोलिका दिनमा जनताले यस्तो दुःख नपाउन् भनेर सचेत हुँदै काम गर्नुपर्ने बताए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग हिजोका दिनमा आफु पनि सँगै जेल भोगेको पनि देउवाले स्मरण गराए । ‘एमालेका अध्यक्ष ओली जी, वामपन्थी साथीहरु लगायत म पनि सँगै जेल बसेका हौँ । यी सब कुराहरु हामिले भोग्या हुन् ।’ उनले भने, ‘हिजोका दिनमा भोगेका दुःखहरुलाई ध्यान राखेर भोलीका दिनमा कुनै पनि नेपालीलाई दुःख नपरोस्, यस्तो किसिमको परिस्थिती नआओस् भनेर हामी सचेत हुनुपर्छ’ उनले भने ।
देउवाले यही मुल्य र मान्यतालाई संस्थागत गराउन आफु र आफु नेतृत्वको सरकार कटिबद्ध रहेको बताए । एमाले महाधिवेशनको सफलताको शुभकामना दिँदै देउवाले दलहरुबीचको देखिने मनमुटावलाई निरन्तर संवाद र वार्तामार्फत अन्त्य गर्नुपर्ने बताए ।
कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि खोपलाई प्राथमिकता दिएको भन्दै देउवो सबै दलहरूलाई मिलाएर लैजाने आफ्नो पार्टी र सरकारको रणनीति रहेको पनि बताए ।