नेकपा (एमाले)को १०औँ महाधिवेशनमा अध्यक्षका प्रत्यासी नेता डा.भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको सहमति प्रयासबारे आफू जानकार नभएको बताएका छन् ।
दुई जना नेताबीचको संवादपछि रावललाई वरिष्ठ उपाध्यक्ष दिन ओली तयार भएको विषयमा पत्रकारहरूको जिज्ञसामा रावलले भने, “अध्यक्षज्यूले सहमति खोज्न गरेका भनिएका प्रयासबारे मलाई थाहा छैन, मलाई कुनै जानकारी नै दिइएको छैन ।’ उनले अफ्नो उम्मेदवारी कायम रहेकोसमेत बताएका छन् ।
नेता रावलले महाधिवेशनको बन्दसत्र ढिलाइ भएकोमा आक्रोशसमेत व्यक्त गरे । अध्यक्ष ओलीको कार्यक्रममा ढिलो आउने बानीका कारण समस्या भएको भन्दै उनले समयमै चल्न ओलीलाई सुझावसमेत दिएका छन् । बन्दसत्रका प्रतिनिधिसँग रावलले मत माग्न थालिसकेका छन् ।
अध्यक्षका लागि भोट माग्दै भीम रावल
नेकपा एमालेमा अध्यक्षका दाबेदार भीम रावलले भोट माग्न थालेका छन् । एमालेका १० औँ महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेका बेला उनले भोट माग्न सुरु गरेका हुन् ।
उनले महाधिवेशनको बन्दसत्र हलभित्र प्रतिनिधिसँग भोट माग्न सुरु गरेका छन् । प्रतिनिधिसँग आफूलाई विश्वास गरेर भोट दिन उनले आग्रह गरिरहेका छन् ।
शुक्रबार साँझ पनि आफूले दिएको उम्मेदवारी फिर्ता नलिने बताएका थिए । केन्द्रीय कमिटीको अन्तिम बैठकले पदाधिकारीको संख्या बढाएपछि सर्वसम्मत हुने अपेक्षा गरिए पनि अहिलेसम्म पनि छलफल नहुँदा सर्वसम्मत हुने सम्भावना कम हुँदै गरेको छ ।