नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १०औँ महाधिवेशनले राजनीतिमा अहिले देखिएको पथभ्रष्ट, अराजकतालाई सच्याउने गरी नयाँ नेतृत्व आउने बताएका छन् ।
चितवनमा जारी बन्द सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले महाधिवेशनमा सहभागी देश विदेशबाट आएका पाहुना र सहभागीलाई धन्यबाद दिँदै उनीहरूले एमालेलाई परिचित, विश्वनीय र भरपर्दो पार्टीका रुपमा दिएको शुभकामनालाई पूरा गर्ने बताए ।
विपक्षीसँग प्रतिस्पर्धा
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र प्रतिस्पर्धा नभइ एकता गरेर अघि वढ्नुपर्ने बताएका छन् ।
१०औं महाधिवेशनको बन्द सत्रमा बोल्दै उनले भने, “विपक्षीसँग प्रतिस्पर्धा गरौँ, पार्टीभित्र एकता गरौँ ।” उनले पार्टीलाई एकतापूर्ण ढंगले अगाडि वढाएको भन्द नेता र कार्यकर्तालाई धन्यवादसमेत दिए । “म कति बाँच्छु भन्न सक्दिन, धेरैपटक मरेर बाँचेर आएको छु, तपाईहरुलाई देखेरै मलाइ निद्रा लाग्छ खाना रुच्छ र देशको भविष्य सुरक्षित देख्छु,” ओलीले बन्द सत्रमा भने ।
१०औँ महाधिवेशनको बन्द सत्रमा बोल्दै ओलीले एमालेबाट अन्य दलहरुले समेत सिक्न थालेको भन्दै एमालैकै मोडलमा एकैपटक तल्ला तहका कमिटीहरुका अधिवेशन गर्न सुरु भएको बताए ।
ऐतिहासिक जनसहभागिता र शुभेच्छामा उदघाटन सत्र सम्पन्न गरेको भन्दै ओलीले भने, “एउटा विशेष परिस्थिति र अवस्थाबाट अघि बढिरहेको छ । सत्ताबाट प्रतिपक्ष भएको अवस्थामा, विरोधीका जालझेल असंवैधानिक अलोकतान्त्रिक कदमले यहाँ पुग्यौं । जनताले यहाँ पुर्याएको होइन ।
जनमत यो होइन । अझ बढी गम्भीर चुनौती खडा भएको छ । राज्यको दुरूपयोग भएको छ । दढ भएर सामना गर्नुपर्नेछ ।’ उनले नवौं महाधिवेशनपछि संविधान निर्माण गरी जारी गर्न दलहरू एकजुट गराउन एमालेको महत्वपूर्ण भूमिका रहेको बताए ।
उनले महाधिवेशनपछि स्पष्ट वैचारिक दिशातर्फ अगाडि बढेको भन्दै एमालेलाई दुर्वचन बोल्ने र होच्याउने अवस्था अन्त्य भएको पनि बताए ।