नेकपा एमालेको बन्दसत्रमा नेता भीम रावल आक्रोसित बनेका छन् । एमाले नेता विष्णु पौडेलले उम्मेदवारी दिन पाइन्न, विधानभन्दा दायाबाया हुँदैन भनेपछि नेता रावल आक्रोसित बनेका थिए । पौडेलले उम्मेदवारी दिन विधानले नै नदिने तर्क गरेपछि रावलले असन्तुष्टि जनाएका थिए ।
उनले विधानले उम्मेदवारी दिन नपाइने उल्लेख नगरेको भन्दै आफू उम्मेदवारबाट पछि नहट्ने बताएका थिए । रावल रन्किएपछि ईश्वर पोखरेलले सबैले उम्मेदवारी दिन पाइने भन्दै थमथम्याएका थिए । उनले विधान भन्दा दाँयाबायाँ नहुने बताएका थिए ।बन्दसत्र चलेको तीन घन्टा बोलेका ओलीले नेताहरूबीच विवाद भएपछि रावललाई सान्त्वना दिँदै महाधिवेशन विधान अनुसार नै हुने बताएका थिए ।
‘विधानअनुसार सबैलाई अधिकार रहन्छ । जबरजस्ती सहमति गरिँदैन । जबज पास भएकै महाधिवेशनबाट केन्द्रीय कमिटी सर्वसम्मत चुनिएको थियो ।
उम्मेदवारी बन्ने कसैको अधिकार खोसिँदैन’, ओलीले भने । ओलीले ठट्टा गर्दै रावललाई मनोनयन नै नभएको अवस्थामा कसरी उम्मेदवारी फिर्ता लिनुहुन्छ भनेका थिए । धेरै आकांक्षी देखिएपछि ओलीलाई सबै नेताहरूको व्यवस्थापनमा समस्या भइरहेको छ ।
यहीबीच रावलले उम्मेदवारी फिर्ता नलिने अडान कायमै राखेसँगै सर्वसम्मत नेतृत्व छनोट हुने सम्भावना पनि कम रहेको छ । यसका साथै आजको बन्दसत्र सकिएको छ । ओलीले भोली १० बजे सबैलाई उपस्थित हुन निर्देशन दिएका छन् । अब भोलीका कार्यक्रम बिहान ११ बजेबाट सुरु हुने छन् ।
बन्दसत्रले शुक्रबारको केन्द्रीय कमिटीबाट भएको पदाधिकारी थप्ने निर्णय पनि अनुमोदन गरेको छ । शुक्रबारको बैठकले ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको थियो । यसअघि केन्द्रीय कमिटी २२५ सदस्यीय थियो । बैठकले पोलिटब्युरो ब्युँताउने निर्णयसमेत गरेको थियो । जसमा ९९ जना सदस्य रहनेछन् । गत असोजमा भएको विधान महाधिवेशनले पोलिटब्युरो हटाएको थियो ।
नेकपा एमालेका नेता भीम रावलले पदाधिकारी र केन्द्रीय सदस्यहरुको नामावली प्रस्ताव गर्ने अधिकार केपी शर्मा ओलीलाई दिने प्रस्तावको विरोध गरेका छन् । शनिबार सौराहामा जारी १० औं महाधिवेशन अन्तर्गत बन्दसत्र हलले अध्यक्ष ओलीलाई १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्य प्रस्ताव गर्ने जिम्मा दिएको थियो । उनले भने, ‘हामीले विधानमा के लेख्यौं भनेर हेक्का राख्नुपर्छ ।
हामी केही बसेर विधान संशोधन गर्यौं भन्न मिल्दैन,’ उनले भने, ‘कि त विधानमा अब आइन्दा निर्वाचन हुने छैन लेख्नुपर्यो ।’ बन्द सत्रमा नेता विष्णु पौडेलले पदाधिकारी र केन्द्रीय सदस्यको उम्मेदवारको नामावली प्रस्ताव गर्ने अधिकार अध्यक्ष ओलीलाई दिने प्रस्ताव गरेका थिए ।
त्यसलगत्तै बन्दसत्रका अधिकांशले ताली बजाएपछि उक्त प्रस्ताव पारित भएको घोषणा गरिएको थियो । अर्का नेता घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीले सहमतिको नाममा मृत्युको आँसु बेचेको प्रतिक्रिया दिएका छन् । बन्दसत्र आइतबार १० बजे पुनः सुरु हुनेछ ।