मयूरपाटी -विश्वभर कोरोना भाइरसले गर्दा लाखौँ मानिसहरुले ज्यान गुमाइसकेका छन् । कोरोना भाइरसलाई नियन्त्रण गर्नका लागि विश्वभरका वैज्ञानिकहरु खोप बनाउन लागि परेका छन् । यो महामारीको बीचमा पताञ्जली रिसर्च इन्सीच्युट, हरिद्वार एन्ड नेशनल इन्सीच्युट अफ मेडिकल साइन्स जयपुरको खोजमा कोरोनिल नामक औषधी सार्वजनिक भयो यसले कोरोनाबाट त्रसित आम जनतालाई खुसीको तरंग ल्यायो । यो खुसी साँझसम्म मात्रै टिक्यो, आयुष मन्त्रालयले पतञ्जलीलाई औषधिको प्रचार नगर्न निर्देश दिएको छ । मंगलबार कोरोनिल नामक औषधी सार्वजनिक गर्दै योग गुरु रामदेवले कोरोनिलमा गिलोय, तुलसी र अश्वगन्धा भएको र जसले शरीरको प्रतिरोध क्षमता बढाउँछ भनेका थिए ।
तर, भारतको आयुष मन्त्रालयले पतञ्जलि ग्रुपलाई निर्देशन दिँदै मंगलबार यस औषधिको परीक्षण नहुन्जेल प्रचार–प्रसार नगर्न निर्देशन दिएको छ । यसका साथै उत्तराखण्ड सरकारको लाइसेन्सिङ्ग अथोरिटीबाट यस उत्पादनको अनुमतिपत्रको प्रतिलिपि पनि मगाइएको छ । पतञ्जलिको कोरोना ट्याब्लेटबारेमा आयुष मन्त्रालयले यस औषधिको वैज्ञानिक परीक्षण नगरी विश्वास गर्न नसकिने जनाएको छ । आयुष मन्त्रालयले पतञ्जलि आयुर्वेद लिमिटेडबाट कोभिडको औषधिको कम्पोजिशन, रिसर्च र स्याम्पल साइजसमेत सबै जानकारी सार्वजनिक गर्न भनेको छ । उनले यो घोषणा गरेसँगै कोरोनाको गम्भीर संकटतर्फ धकेलिइरहेको भारतमा खुसीयाली छाएको थियो । तर मन्त्रालयले उसको रिसर्चको पूरा विवरण उपलब्ध गराउन पनि भनेको छ । कोरोना कुनै साधारण रोग होइन, यो बिलकुल नयाँ भाइरस हो । यसको औषधि र भ्याक्सिन बनाउन भारतभरका वैज्ञानिक पनि जुटेका छन् ।
कोरोना महामारीको औषधि बनाउन कुनै नि कम्पनीले मन्त्रालयको अनुमति लिनुपर्ने हुन्छ । यस्तोमा कुनै पनि कम्पनीले कोरोनाको औषधि बनाएको दाबी स्वतस् गर्न पाउँदैनन् । कुनै नयाँ भ्याक्सिन या औषधि बनाउँदा अनिवार्यरुपमा सरकारबाट अनुमति लिनुपर्ने हुन्छ । त्यसपछि मात्रै त्यो कम्पनीले औषधि बनाउन पाउँछन् । कुनै पनि कम्पनीले बजारमा गएर कोरोनाको औषधि भनेर दाबी गर्न पनि पाउँदैनन् । मन्त्रालयले पतञ्जलि ग्रुपलाई यस औषधिको वैज्ञानिक परीक्षण नभएसम्मका लागि कुनै किसिमको प्रचार प्रसार नगर्न पनि निर्देशन दिएको छ । रामदेवले मंगलवार कोरोनाको आयुर्वेदिक औषधि बनाएको जिकिर गरेका थिए । कोरोनिल नामको यो औषधि उनले सार्वजनिक गरेका थिए ।