नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दिनभर बैठक नगरी प्रतिनिधिहरूलाई अलपत्र पारेकोमा आपत्ति जनाएका छन् ।
त्यस्तै संस्थागत छलफल नगरी राति बैठक बोलाउनु धाँधलीको सङ्केत भएको पनि जिकिर गरेका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन् – दिनभरि बैठक नगरेर प्रतिनिधिहरूलाई अलपत्र बनाउने र संस्थागत छलफल नगरी राती ७ बजे बैठक हुने सूचना जारी गर्नु अलोकतान्त्रिक कार्य मात्र होइन धाँधलीको सङ्केत पनि हो।

यसले जनताको बहुदलीय जनवाद अन्तर्गत प्रतिस्पर्धाको राजनीतिमाथि आघात पुग्छ।
नेकपा एमालेको १०औं महाधिवेशनको बन्दसत्र स्थल उपाध्यक्ष भीम रावलले नछोड्ने बताएका छन् । रावलले नेतृत्व विधान विपरीत जानसक्ने भन्दै बन्दसत्र स्थल नछोड्ने बताएका हुन् ।
आइतबार बिहान १० बजेका लागि बोलाइएको बन्दसत्र यो समाचार तयार पार्दासम्म बेलुकीको सवा ६ बज्दासम्म सञ्चालन हुन सकेको छ । एमाले स्रोतका अनुसार बेलुकी ७ बजेबाट बन्दसत्र सुरु हुने छ ।
अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व चयन गर्ने जिम्मेवारी दिएको थियो । अध्यक्ष ओली बिहानैदेखि आफू निकटका नेताहरूसँग सर्वसम्मत नेतृत्व चयनका विषयमा छलफल गरिरहेका छन् ।
उता अध्यक्षमा उम्मेदवारी घोषणा गरेका नेता रावलले जे पनि हुनसक्ने भन्दै बन्दसत्र स्थलमै रहने बताएका छन् । उनका लागि सचिवालयले बाहिरबाट खाना प्याक गरेर लैजाने भएको छ ।