नेकपा एमालेको जारी महाधिवेशनबाट महासचिवमा निर्विरोध निर्वाचित भएका शंकर पोखेरेलले भीम रावल लगायत उम्मेदवारलाई मतदान नगर्न जारी गरिएको उर्दी अनौठो नभएको बताएका छन् ।
मंगलबार बिहान नेतृत्व चयनका लागि भएको मतदानका क्रममा केपी ओली पक्षधरले विपक्षी उम्मेद्वारहरुलाई मतदान नगर्न भन्दै पर्चा बाँडेको थियो ।
यसबारे महासचिव पोखरेलले पत्रकारहरुसँग कुरा गर्दै त्यसरी पर्चा बाँडिनु आचारसंहिताविपरीत नरहेको बताएका हुन् । उनले भने, ‘होइन, त्यो त पार्टीको औपचारिक प्रस्ताव हो ।
त्यो प्रस्तावलाई अन्यथा गर्ने हिसाबले उम्मेदवारी दिएका कमरेडहरूले आफ्नो पक्षमा प्रचार गर्नुभएको छ । र अध्यक्ष मण्डलको प्रस्ताव यो हो भन्ने कुरा त घोषितै छ ।
कुनै अनौठो कुरा होइन । घोषित प्रस्तावलाई प्रचार गरियो भन्ने कुरा अनौठो होइन ।’
केपी ओलीले सर्वसम्मत नेतृत्व चयनको धेरै प्रयास गरे पनि अध्यक्षमा भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल तथा सचिवमा भीम आचार्यलगायतले उम्मेद्वारी दिएका थिए । उनीहरुलाई मत नहाल्न भन्दै प्रचार गरिएको थियो ।