नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्ने भएको छ । बिहान ९:३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टीमा देखिएका समस्या समाधानका विषयमा छलफल हुने एक सचिवालय सदस्यले नागरिकखबरलाई जानकारी दिए ।
आजकाे बैठकमा अध्यक्षद्वयले गठन गरेको कार्यदल, मन्त्रिमण्डल पुनर्गठन, पार्टीको महाधिवेशन र अहिलेसम्मका विवादका विषयमा छलफल हुने ती सचिवालय सदस्यले जानकारी दिए ।
महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन भएको ६ सदस्यीय कार्यदललाई आजकाे सचिवालय बैठकले अनुमोदन गर्नेछ । कार्यदलकाे बैठक जारी छ । वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले सचिवालयले गठन प्रक्रियालाई अनुमोदन गरेपछिमात्रै त्यसको प्रतिवेदन बैठकमा छलफल हुनुपर्ने धारणा राखेपछि बैठकमा कार्यदल गठनको निर्णय अनुमोदन हुन लागेकाे हाे ।
मन्त्रिपरिषदका सदस्य परिवर्तन गरेर सरकारलाई प्रभावकारी पार्ने विषयमा पनि छलफल गर्ने तयारी छ । अर्का एक सचिवालय सदस्यले मन्त्रिमण्डलका सदस्य परिवर्तन गर्ने विषय कार्यदलको प्रतिवेदन आएसँगै गर्ने वा स्थायी कमिटी बैठकपछि गर्ने भन्ने विषय टुंगो नलागेको जानकारी दिए । विवाद बढेसँगै नेकपाको सचिवालय बैठक पनि लामो समयदेखि बस्न सकेको थिएन ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच विवाद समाधानको सहमति भएसँगै तत्कालका लागि नेकपाको विवाद सकिएको छ ।