Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

प्रचण्डको परिपत्र : १५ सय बराबर १ जना प्रतिनिधि चयन गर्न सर्कुलर

प्रचण्डको परिपत्र : १५ सय बराबर १ जना प्रतिनिधि चयन गर्न सर्कुलर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १९, २०७८ आइतवार • १४:१०:१६ बजे
  • 1.1K
    SHARES
  • प्रचण्डको परिपत्र : १५ सय बराबर १ जना प्रतिनिधि चयन गर्न सर्कुलर

    नेकपा माओवादी केन्द्रले पुस ११ देखि १३ गतेसम्म आयोजना गरेको राष्ट्रिय सम्मेलनका लागि तयारी तीव्र पारेको छ । मंसिर १६ र १७ गते बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले सम्मेलन केन्द्रीत विभिन्न निर्णय गर्दै कार्यान्वयनका लागि सवै प्रदेशलाई १८ बुँदे परिपत्र जारी गरेको छ ।

    images

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जारी गरेको परिपत्रमा २०७८ मंसिर मसान्तसम्म सबै केन्द्रीय विभागहरुको बैठक बसी राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि चयन गरेर केन्द्रीय कार्यालयमा नामावली (नवीकृत सदस्यता नम्बरसमेत) पठाइसक्न भनिएको छ ।

    त्यस्तै पार्टी केन्द्रीय कार्यालयबाट राष्ट्रिय सम्मेलनको लागि यसअघि १० प्रतिशत मनोनित गर्ने प्रतिनिधिको व्यवस्था परिवर्तन गरेको छ ।

    त्यसलाई घटाएर ५ प्रतिशत कायम गरेको माओवादी केन्द्रले जनाएको छ । साथै प्रदेशबाट राष्ट्रिय सम्मेलनमा सहभागी प्रतिनिधिहरुको बारेमा प्रत्येक प्रदेशबाट ३० जनाको दरले प्रतिनिधि छनौट गर्ने र बाँकी १५०० संगठित सदस्य बराबर १ जना प्रतिनिधि चयन गर्ने निर्णय माओवादी केन्द्रको छ ।

    त्यसैगरी माओवादी केन्द्रले ८० वटासम्म पालिकाहरु भएका प्रदेशमा प्रदेश समिति १७५ सदस्यीय कायम गर्ने र सो भन्दाबढी पालिकाहरु भएका प्रदेशहरूमा प्रत्येक पालिका र दुवै तहका निर्वाचन क्षेत्र संख्याको आधारमा प्रदेश समितिमा १÷१ जना सदस्य थप गर्ने निर्णय गरेको छ ।

    विधान परिमार्जनको जिम्मा गुरुङलाई

    माओवादी केन्द्रले विधान परिमार्जन गर्ने भएको छ । राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने विधानको आवश्यक परिमार्जन गर्न नेता देव गुरुङको संयोजकत्वमा जनार्दन शर्मा, लीलामणि पोखरेल, पम्फा भुसाल र मातृका प्रसाद यादव रहेको समिति गठन गरेको छ ।

    त्यसैगरी राष्ट्रिय सम्मेलनमा समसामयिक प्रस्ताव तयार पार्न गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत,गणेश साह रहेको तीन सदस्यीय समिति गठन गरेको छ । सम्मेलन व्यवस्थापनको जिम्मा हितमानलाई माओवादीले राष्ट्रिय सम्मेलनको व्यवस्थापनका लागि हितमान शाक्यको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ ।

    जसमा डिलाराम आचार्य, नारायण दाहाल,सत्य पहाडी, लेखनाथ न्यौपाने, श्रीराम ढकाल मुख्य सचिव केन्द्रीय कार्यालय, रामप्रसाद सापकोटा र जगत सिंखडा सदस्य रहेका छन् । त्यसैगरी प्रवक्ता कृष्णबहादुर महराको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति गठन गरेको माओवादीले जनाएको छ ।

    माओवादीले सुदूरपश्चिम प्रदेशमा इञ्चार्ज, अध्यक्ष र सचिव बाहेक सबै केन्द्रीय सदस्यहरु प्रदेश सहइन्चार्ज रहने र जिल्ला इन्चार्ज केन्द्रीय सदस्य नै रहने यस अघिको इन्चार्ज तोकिएका केन्द्रीय प्रतिनिधिहरु जिल्ला सहइन्चार्ज रहने निर्णय गरेको छ ।

    प्रत्येक एकजना घाइते अपाङ्ग अनिवार्य

    प्रदेशले कम्तिमा १ जना घाइते÷अपाङ्ग कमरेडहरुलाई राष्ट्रिय सम्मेलनको प्रतिनिधि अनिवार्य चयन गर्नुपर्ने निर्णय पनि माओवादीले गरेको छ ।

    प्रत्येक प्रदेशले २०७८ मंसिर २३ गतेभित्र प्रदेश सम्मेलनका प्रतिनिधिहरुको नामावली प्रदेश निर्वाचन समितिलाई अनिवार्य बुझाउनुपर्ने माओवादीको सर्कुलरमा उल्लेख छ ।

    सरकार र पार्टीको कामलाई व्यवस्थित गर्न अध्यक्ष प्रचण्डको नेतृत्वमा हरिबोल गजुरेल सचिव रहने गरी देव गुरुङ, लीलामणि पोख्रेल र ५ जना मन्त्रीज्यू सम्मिलित एक समिति गठन गरेको पनि सर्कुलरमा उल्लेख छ ।

    लेवी र नवीकरण शुल्क अनिवार्य दाखिला गर्न निर्देशन

    माओवादीले केन्द्रीय कार्यालयमा बुझाउनु पर्ने लेवी, सदस्यता नवीकरण शुल्क र राष्ट्रिय सम्मेलनका लागि निर्वाचित प्रतिनिधिहरुको नामावली (पार्टी सदस्यता नम्बर समेत उल्लेख गरी) मंसिर २९ गतेसम्म अनिवार्य रुपमा केन्द्रीय कार्यालयमा पठाई सक्न पनि निर्देशन दिएको छ ।

    पार्टीले राष्ट्रिय सम्मेलनमा सहभागी हुने आयोजक एवम् प्रतिनिधिहरुलाई प्रतिनिधि शुल्क दुई हजार रुपैयाँ प्रतिव्यक्ति तोकेको छ । साथै सम्मेलनमा सहभागी हुने सबै प्रतिनिधिहरुले खाने, बस्ने लगायतका खर्चको व्यवस्थापन आफैं गर्नु पर्ने अग्रिम जानकारी पनि गराएको छ ।

    आ–आफ्ना प्रतिनिधिहरुको सम्पूर्ण व्यवस्थापनको जिम्मा सम्बन्धित प्रदेशले गर्नुपर्ने प्रचण्डले जारी गरेको सर्कुलरमा भनिएको छ । नयाँ जोश, जाँगर र दृढताका साथ पार्टी पुनर्निर्माणको महान् अभियानमा जुटिरहेको दावी गरेको सो पार्टीले राष्ट्रिय सम्मेलन भव्य रुपमा सम्पन्न गर्दै नयाँ विचार र राजनीतिक कार्यदिशासहितको क्रान्तिकारी पार्टी निर्माण गर्ने अठोट लिएको छ ।

  • सम्बन्धित विषय:

  • # प्रचण्डको परिपत्र
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology