नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले आज अवधारणापत्र सार्वजनिक गर्दैछन ।
थापाको सचिवालयका अनुसार उनले आज दिउँसो ३ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘समुन्नत नेपालः सम्मानित नेपाली’ संकल्पसहितको अवधारणापत्र सार्वजनिक गर्न लागेका हुन ।
‘समुन्नत नेपालः सम्मानित नेपाली’ को संकल्प पूरा गर्न सक्ने पार्टी बनाउन कांग्रेसको पुनर्जागरण र रुपान्तरणका लागि मेरो अवधारणा सार्वजनिक गरिने कार्यक्रममा तपाईंको गरिमामय उपस्थिति एवं सल्लाह सुझावको अपेक्षा गरेको छु,’ थापाले भनेका छन् ।
भोलि शुक्रबारबाट सुरु हुने कांग्रेस महाधिवेशनमा थापाले महामन्त्री पदमा उम्मेदवारी दिँदैछन्
कांग्रेस संस्थापन इतरलाई उम्मेदवार छान्न सकस
नेपाली कांग्रेसको संस्थापन इतर पक्षलाई आसन्न १४औं महाधिवेशनमा साझा उम्मेदवार चयन गर्न हम्मेहम्मे परेको छ । यो समूहबाट सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंह र शशांक कोइराला आकांक्षी छन् ।
यद्यपि सहमतिमा जाने हो भने आफू पद छाड्न तयार रहेको शशांकले यसअघि नै बताएका थिए । तर, साझा उम्मेदवार छान्न चार दिनको प्रयासले सार्थकता पाउन सकेको छैन ।
नेता गुरु घिमिरेका अनुसार नेताहरुबीच आज बिहान बानेश्वरमा छलफल हुँदैछ । यसअघि सभापतिका आकांक्षीहरुबीच छलफल हुँदै आएको थियो । तर आज सभापतिका आकांक्षीबाहेकका केन्द्रीय सदस्यबीच छलफल हुनेछ ।
‘उम्मेदवार बन्ने विषयमा निर्णय गरेर सुझाव दिन्छौँ,’ उनले भने, ‘उहाँहरु बाहेकको छलफल गरेर विकल्पसहितको धारणा पेस गरेपछि मिल्ला ।’
उनका अनुसार वरिष्ठ नेता पौडेल सहमतिका लागि त्याग गर्न तयार भएपनि सिंह र शेखरबीच सहमति हुन नसकेको हो । १४औँ महाविधेशनका लागि कांग्रेसले महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरिसकेको छ ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टीको वेबसाइटमार्फत चार हजार तीन सय १९ जना महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरेको हो ।