नेकपा माओवादी केन्द्रको प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।
प्रथम अधिवेशन अन्तरगत स्थानिय तहमा नेतृत्व चयन गरेको माओवादीले यही मंसिर २५ र २६ गते पोखरा सभागृहमा गण्डकी प्रदेशको अधिवेशन गर्न लागेको बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ ।
मंसिर २५ र २६ गते सातै प्रदेशमा अधिवेशनको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एकैसाथ भर्चुअल रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
पोखरामा हुने अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको प्रदेश समिति सचिव देवेन्द्र पराजुलीले जानकारी दिए । उनले सात भौगोलिक र तीन गैर भौगोलिकसहित दश प्रदेशको अधिवेशन सम्पन्न गर्न लागिएको बताए ।
गण्डकीका मनाङ, मुस्ताङ र नवलपुरका केही स्थानीय तहका अधिवेशन गर्न बाँकी रहेको सचिव पराजुलीले बताए । अधिवेशनले अध्यक्ष १, उपाध्यक्ष ३, सचिव १, सहसचिव ३ र कोषाध्यक्ष १ जनासहित २२९ सदस्यीय प्रदेश समिति गठन गर्नेछ । प्रदेश समितिमा ९ पदाधिकारीसहित २ सय २९ कार्यसमिति सदस्य हुने व्यवस्था छ ।
अधिवेशनमा प्रदेशका विभिन्न तहबाट निर्वाचित भएका ८ सय ४६ जना प्रतिनिधिहरू सहभागी हुने गण्डकी प्रदेश इञ्चार्ज एवम् केन्द्रीय सदस्य हितराज पाण्डेले इञ्चार्ज पाण्डेले बताए ।
जसमध्ये ६ सय जना पालिका समितिबाट निर्वाचित प्रतिनिधि, ६० मनोनित प्रतिनिधि, ९६ आयोजक, ४३ जना ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्य र ४७ जना प्रदेश सल्लाहकार रहेका छन् ।
त्यसमध्येबाट ३५ महिला, २० युवा, १९ जना मुस्लिम र सीमान्तकृत समुदाय रहेका छन् । अधिवेशनमा विचार निर्माण र संगठनात्मक काममा मुख्यरुपमा केन्द्रीत हुने इन्चार्ज पाण्डेले बताए ।
उनले प्रदेशको नेतृत्वका लागि सहमतिको प्रयास गर्ने यदि सहमति जुट्न नसकेको अवस्थामा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्ने बताए । इन्चार्ज पाण्डेले प्रदेश कमिटी २२९ सदस्यीय हुने जानकारी दिए ।
जसमा प्रदेश कमिटीमा ९ पदाधिकारी हुनेछन् । त्यसमध्ये कम्तिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १९ प्रतिशत दलित, मुस्लिम तथा सीमान्तकृतहरुको प्रतिनिधित्व रहने छ ।