प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आफु नेतृत्वको सरकार बनेपछि मुलुक त्रासमुक्त बनेको दावी गरेका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई सम्बोधन गर्दै देउवाले एमाले नेतृत्वको सरकारका बेला डर त्रास रहेको र आफुले सरकारको नेतृत्व गरेपछि मुलुक त्रासमुक्त बनेको बताएका हुन् ।
उनले ओलीको शासनबाट जनताले मुक्ति पाएको भन्दै मुक्ति बचाउने हो कि नबचाउने भन्ने प्रश्न रहेको बताए । देउवाले आफूलाई फेरि एकपटक जिताउन महाधिवेशन प्रतिनिधिलाई अनुरोध पनि गरे ।
उनले आफ्नो सरकारले निर्वाचन गराए तीनै तहमा कांग्रेसको सरकार बनाएर छाड्ने दावी गरे । त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले बर्तमान सरकार अस्तव्यस्त र गतिहीन भएको आरोप लगाए ।
नेता पौडेलले अहिले देशको परिस्थिति गम्भीर अवस्थामा पुगेको पनि तर्क गरे । एक वर्षभित्र पार्टीले विरोधी शक्तिहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति रहेको भन्दै विरोधीसँग जुध्न सक्ने नेतृत्व चयन अहिलेको आवश्यकता रहेको उनकोे भनाई छ ।
पौडेलले पार्टीका कार्यकर्ताले नेतृत्वको मूल्यांकन गनुपर्ने बेला आएको धारणा राखे । कांग्रेसको महाधिवेशन अन्तर्गत शनिबारबाट निर्वाचन प्रक्रिया सुरु हुने छ ।