Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बागमती प्रदेशमा एकीकृत समाजवादी र माओवादी केन्द्रबाट मन्त्री थप्ने तयारी

बागमती प्रदेशमा एकीकृत समाजवादी र माओवादी केन्द्रबाट मन्त्री थप्ने तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २८, २०७८ मंगलवार • १६:०४:२५ बजे
  • 880
    SHARES
  • बागमती प्रदेशमा एकीकृत समाजवादी र माओवादी केन्द्रबाट मन्त्री थप्ने तयारी

    बागमती प्रदेशमा मंगलबार मन्त्रिपरिषद विस्तारको तयारी भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मंगलबार थप ६ जना मन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेको स्रोतको भनाइ छ ।

    images

    स्रोतका अनुसार मंगलबार सरकारको नेतृत्व गरिरहेको एकीकृत समाजवादीबाट दुई मन्त्री, एक राज्यमन्त्री र माओवादी केन्द्रबाट तीन जना मन्त्री गरी पाँच जना थप्ने तयारी भएको जनाइएको छ । स्रोतका अनुसार एकीकृत समाजवादीबाट बसुन्धरा हुमागाँई, बसन्त मानन्धर मन्त्री र इन्द्रमाया गुरुङ राज्यमन्त्री बन्ने चर्चा छ ।

    यस्तै, माओवादी केन्द्रबाट विशाल खड्का, रत्न ढकाल र घनश्याम दाहालको मन्त्री बन्ने चर्चा रहेको जनाइएको छ । उनीहरू मध्ये कसले कुन मन्त्रालय पाउने भन्नेमा गठबन्धनका बीचमा सहमति भएको जनाइए पनि सार्वजनिक भने गरिएको छैन ।

    मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार मंगलबार बेलुका ५ बजेसम्म मन्त्री नियुक्त गरी शपथ खुवाउने तयारी भएको हो । मुख्यमन्त्रीको आग्रह बमोजिम बाग्मती प्रदेश प्रमुखको कार्यालयमा शपथको आवश्यक व्यवस्थासमेत मिलाइसकिएको जनाइएको छ ।

    गत कात्तिक ११ मा ४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका पाण्डेले २५ कात्तिकमा दुई मन्त्री थपेका थिए । यसअघि पहिलो चरणमा कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल भौतिक पूर्वाधार, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान सामाजिक विकास, एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद शर्मा खनाल आन्तरिक मामिला मन्त्री भएका छन् ।

    यस्तै, दोस्रो चरणमा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्मकट्टेल आर्थिक मामिला र कांग्रेस सांसद निमा लामाले स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । बागमतीमा १५ मंसिरको मन्त्रिपरिषद्को निर्णयअनुसार आठवटा मन्त्रालय फुटाएर चौध वटा मन्त्रालय बनाइएको छ ।

    गठबन्धनको सरकार भएकाले मुख्यमन्त्री पाण्डेलाई सरकार जोगाउनका लागि मन्त्रालय फुटाएर भाग लगाउनु परेको हो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय बनाएको छ ।

    भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय फुटाएर कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय बनाइएको छ ।

    यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय बनाइएको छ । सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय र सामाजिक विकास मन्त्रालय बनाइएको छ ।

    करिब चार वर्ष प्रदेशका पहिलो मुख्यमन्त्री डोरमणि पौडेलले सात सदस्यीय मन्त्री मन्डलको सरकार संचालन गरे पनि दोस्रो मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले स्वास्थ्य मन्त्रालय थप गरेकी थिइन् ।

    शाक्यले एउटा मन्त्रालय थपेपछि सुरु भएको मन्त्रालय फुटाएर चौध पुर्‍याइएको हो । बागमतीमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी जसपाको गठबन्धनको सरकार रहेको छ ।

  • सम्बन्धित विषय:

  • # बागमती प्रदेश
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology