नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाले आफूले पाएको मतलाई न्याय गर्ने बताएका छन् ।
महामन्त्रीमा निर्वाचित भएपछि बिहीबार पार्टी कार्यालयमा पत्रकारहरुसँग प्रतिक्रिया दिँदै उनले मत धेरै पाउनु भनेको जिम्मेवारी पनि धेरै पाउनु रहेको बताएका हुन् ।
उनले आफूलाई चुक्ने र थाक्ने सुविधा नभएको बताए । थापाले महामन्त्रीको रुपमा दुई/तीनवटा एजेन्डा लिएर आएको बताए । “लिखित प्रस्ताव ल्याएको छु ।
त्यसकै आधारमा पार्टीलाई अगाडि बढाउने प्रयास गर्छु,” उनले भने । थापाले आफूलाई मत नदिने १६०० जना महाधिवेशन प्रतिनिधिहरुको आगामी दिनमा मन जित्ने प्रयास गर्ने बताए ।
उनले कांग्रेसलाई देखिने, सुनिने र भरोसा गर्न सकिने पार्टी बनाउनुपर्ने बताए । “जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्छु,” उनले भने । उनले आफू एउटा समूहमा बसेर निर्वाचन लडेको भए पनि अब आफू सिंगो पार्टीको महामन्त्री भएको बताए । नेपाली कांग्रेसको महामन्त्रीमा गगन कुमार थापा निर्वाचित भएका छन् ।
१३औं महाधिवेशनमा कृष्ण सिटौलाको टिमबाट महामन्त्रीमा असफल गगन १४औं महाधिवेशनमा शेखर कोइरालाको टिमबाट भारी मतले विजयी भएका हुन् ।
थापाको संक्षिप्त जीवनी :
युवा नेता गगन थापाको जन्म विस ४ साउन २०३३ सालमा सोलुखुम्बुमा भएको हो । बुवा महेन्द्रकुमार थापा र आमा रामेश्वरी थापाका छोरा थापाले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
उनका दुई छोरी छन् । २०४६ सालको जनआन्दोलनदेखि विद्यार्थीकालमै राजनीति सुरु गरेका थापा नेपाल विद्यार्थी संघमा आबद्ध हुँदै २०५१ सालमा नेविसंघ त्रिचन्द्र क्याम्पसको स्ववियु सदस्य निर्वाचित भए ।
२०५३ मा स्ववियु सचिव र २०५५ मा स्ववियु सभापति बने । २०५७ मा नेविसंघको केन्द्रीय उपाध्यक्ष बने । २०५९-२०६१ सम्म नेपाल विद्यार्थी संघको महामन्त्री भए ।
जनआन्दोलन २०६२-०६३ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहको सक्रिय शासनविरुद्धको आन्दोलनमा आक्रामक भाषण गरेर चर्चामा आएका थापा १२औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।
१३औं महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको टिमबाट महामन्त्रीको उम्मेदवार बनेर तेस्रो स्थान हासिल गरे पनि सम्मानजनक मत प्राप्त गरेका थापालाई महाधिवेशन सकिएलगत्तै केन्द्रीय सदस्यमा मनोनित गरिएको थियो ।
उनी २०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिक र २०७० सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट संविधानसभामा विजयी भए ।
२०७३ छोटो कार्यकालका लागि स्वास्थ्य मन्त्री भएका थापाले स्वास्थ्य क्षेत्रमा सुधारका थुप्रै प्रयास गरेका थिए । २०७१ मा उनी संसदको कृषि तथा जलस्रोत समितिको सभापति भएर काम गरेका थिए ।
दुईपटक राजद्रोहको मुद्दा खेपेका थापा पटक पटक जेल परेका छन् । संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थापा २०७४ सालको चुनावमा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए ।
संविधान कार्यान्वयन, जनजीविकाका सवालमा संसदमा निरन्तर आवाज उठाउने र सत्तालाई जहिल्यै घच्घच्याउने काम उनले गर्दै आएका छन् ।