नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले अबको निर्वाचनमा केपी ओलीले झापाको आफ्नै निर्वाचन क्षेत्रमा पनि जित्न नसक्ने दाबी गरेका छन् ।
शुक्रबार काठमाडौँमा नेकपा (एकीकृत समाजवादी) काठमाडौँ महानगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा खनालले ओलीले मुलुक र जनतामाथि घात गरेको भन्दै अबको निर्वाचनमा झापाबाट पनि चुनाव जित्न नसक्ने दाबी गरेका हुन् ।
उनले ओलीलाई आकाशे खुर्सानीको संज्ञा दिँदै धर्तीमा रहेको जनतामाथि गद्दारी गरेको तर्क गरे ।
पार्टीको नीति र सिद्धान्तलाई कुल्चिएर ओलीले पार्टी र जनताका साथै जनतामाथि धोका दिएको उनको भनाइ छ । खनालले अबको निर्वाचनमा आफ्नौ पार्टीको जितलाई कसैले रोक्न नसक्ने तर्क गरे ।
छोटो समयमा नै पार्टी निकै बलियो भएको भन्दै उनले छोटो समयमा पार्टीका सबै कमिटी निर्माण गरिएको जिकिर गरे । कार्यक्रममा विभिन्न दलबाट आएका कार्यकर्ताहरु एकीकृत समाजवादी प्रवेश गरेका थिए ।