एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट संसारभर ज्यान गुमाउनेको संख्या बढिरहेको छ । संसारभरका वैज्ञानिक तथा चिकित्सकहरु कोरोनाविरुद्धको भ्याक्सिन निर्माणमा जुटेका छन् । अहिलेसम्म पूर्ण सफलता प्राप्त हुन सकेको छैन ।
वैज्ञानिकहरु चिन्तित बन्नेगरी कोरोना भाइरसको खराब रुप सार्वजनिक भएको छ । वैज्ञानिकहरुले गरेको अध्ययनमा मलेसियामा कोरोना भाइरस पहिलेको भन्दा १० गुणा धेरै खतरनाक पाइएको छ । यसअघि नै कोरोना भाइरसले आफ्नो स्वरुप परिवर्तन गरेको समाचार सार्वजनिक भएको थियो ।
तर, अहिले देखिएको म्युटेसन सबैभन्दा खतरनाक मानिएको छ । अमेरिकी सरुवा रोग विशेषज्ञ वैज्ञानिक डा.एन्थोनी फाउसीले कोरोना भाइरसको स्वरुप थप खतरनाक बनेको बताएका छन् । यो तिब्र गतिमा फैलिएको छ । मलेसियामा फेला परेको कोरोना भाइरस अन्य देशमा पाइएको भाइरस भन्दा १० गुणा धेरै खतरनाक भएको ब्लुमवर्गको रिपोर्टमा उल्लेख छ ।
मलेसियामा फेला परेको म्युटेसनलाई
D614G भनिएको छ । मलेसियाका स्वास्थ्य महानिर्देशक डा.नुर हिसम अब्दुल्लाहले अहिलेसम्म जुन तरिकाले भ्याक्सिन बनाइएको छ, त्यो भन्दा पनि धेरै गुणा बलियो भएर भाइरस आइपुगेको जानकारी दिएका छन् ।
उनले भ्याक्सिनको जुन प्रयासहरु भएका छन्, ती सबै प्रयास बिफल हुनसक्ने चेतावनी दिएका छन् । मलेसियाले खतरनाक भाइरस फेला परेसँगै नियम उल्लंघन गर्नेलाई जेल हाल्नेसम्मको निर्णय गरेको छ ।