नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११:३० सुरु भएको बैठक दिउँसो २:३० मा स्थगित भएको हो ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त अध्यक्षतामा सुरु भएको आजको बैठकमा महासचिव विष्णु पौडेलले अध्यक्षद्वयको तर्फबाट बैठकका एजेण्डा राखेका थिए । ती एजेण्डामा छलफल गरेर बैठकले विभिन्न सात वटा एजेण्डा तय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले जानकारी दिए ।
बैठकमा मन्तव्य राख्दै प्रधानमन्त्री ओलीले पार्टी, सरकार र समग्र परिस्थितिको स्वस्थ आलोचनात्मक र जिम्मेवारीपूर्वक छलफल गर्नुपर्नेमा जोड दिए । त्यस्तै अर्का अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टीको आन्दोलन, परिस्थिति, आदर्श र भूमिकाका विषयमा आफ्नो धारणा राखेका थिए । उनले सकरात्मक निष्कर्ष निकालैगरी सबै कमिकमजोरीलाई सच्चाउनुपर्नेमा जोड दिए । बैठक पर्सि फेरि बस्नेगरी स्थगित भएको श्रेष्ठको भनाइ छ ।
एजेन्डा
१.वर्तमान परिस्थिति र स्थायी कमिटीकाे बैठकका सम्बन्धमा अध्यक्षद्वयकाे संबाेधन ।
२.काेभिड-१९ काे नियन्त्रण, राेकथाम र उपचार सम्बन्धमा ।
३. नेपालकाे सीमा समस्या र समाधान सम्बन्धमा ।
४. सरकारकाे कामकाे समग्र समीक्षा सम्बन्धमा ।
५. पार्टी कामकाे समीक्षा र सांगठानिक एकतकाे बाँकी कामहरू सम्पन्न गर्ने सम्बन्धमा ।
६.एममसीसीका सम्बन्धमा ।
७.विविध ।
क.रूकुम घटना
ख.नागरिकता विधेयक र
ग. संघीय संसदका सदस्यहरूकाे भत्ता ।
अर्काे दिन अागामी असार १२ गते ११ बजे पुन: बैठक बस्ने तय भएकाे छ ।
Source : nagarikkhabar