एजेन्सी । क्रिसमसका बेला हुने यात्रा र हुलमुलको अवस्थाले कोभिडविरुद्धका खोपको पूर्ण मात्रा लगाइसकेकाहरुमा समेत कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन फैलिन सक्ने अमेरिकी विज्ञले चेतावनी दिएका छन ।
अमेरिकी सङ्क्रामक रोगविज्ञ डा.एन्थोनी फाउचीले यस्तो चेतावनी दिएका हुन ।
‘यसमा कुनै शङ्का छैन की यसको (ओमिक्रोन) फैलन सक्ने असाधारण क्षमता छ ।’ डा. फाउचीले आइतवार आयोजित एक पत्रकार सम्मेलनमा भने।
महामारीबारे अमेरिकी सरकारलाई सुझाव दिंदै आएका फाउचीले नयाँ भेरिअन्ट हाल ‘विश्वभर फैलिरहेको’ बताए। कोरोनाभाइरसको व्यापक उत्परिवर्तित स्वरूप फैलन नदिन कैयौँ राष्ट्रहरूले कडा नियमहरू लागु गर्दैछन्।
अनुसन्धानकर्ताहरूले खोपको बुस्टर मात्राले गम्भीर बिरामी हुनबाट लगभग ८५ प्रतिशत सुरक्षा दिनसक्ने बताएसँगै विभिन्न देशका सरकारहरूले उनीहरूको कोभिड खोपको बुस्टर मात्रा दिने कार्यक्रमहरू अघि बढाइरहेका छन्।
आइतवार फाउचीले अमेरिकाको पछिल्लो अवस्था हेर्दा ओमिक्रोनले अस्पतालहरूमा व्यापक चाप बढाउन सक्ने देखिएको बताएका छन्।
‘हाल देखिए जस्तै अवस्था रहे हाम्रा अस्पतालहरूमा निकै चाप बढ्ने छ ।’ उनले चेतावनी दिँदै भने। फाउचीले सर्वसाधारणहरूले मास्क लगाउने अनि सामाजिक दूरी कायम राख्नेजस्ता सावधानीका उपायहरू अपनाउनुपर्ने बताए।
धेरै भन्दा धेरै अमेरिकीहरूलाई खोप र बुस्टर मात्रा लगाउन फाउचीले आग्रह गरेको बिबिसीले जनाएको छ ।