विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टमा अलग्गै केन्द्रीय समिति घोषणा गरेका छन् । उनले हाल पार्टीमा कायम रहेका १३० केन्द्रीय सदस्यकामा थप गरेर २०१ सदस्यीय नयाँ समिति घोषणा गरेका हुन् ।
एक विज्ञप्ति जारी गर्दै पाण्डेले थपिएका केन्द्रीय सदस्यहरुको नाम सार्वजनिक गरेका छन् ।
उक्त नयाँ समितिलाई ‘विवेकशील साझा पार्टी सुदृढीकरण अभियान’ नाम दिएका छन् ।
पाण्डेले उक्त अभियानको मूल कार्यभार वैकल्पिक राजनीतिको लिगेसीलाई निरन्तरता दिने र विवेकशील साझा पार्टीलाई वैचारिक तथा सांगठिनक रूपमा थप सशक्त बनाउने रहेको बताएका छन् ।
साथै यस अभियानले घोषणा भएको मितिले ९० दिन भित्र राष्ट्रिय सम्मेलन गर्ने समेत उनले बताएका छन् ।
विज्ञप्तीमा भनिएको छ, ‘पार्टीमा हालको १३० सदस्यीय केन्द्रीय समितिलाई यथावत् राख्दै यसमा पार्टीका अन्य महत्त्वपूर्ण पक्षहरू समावेश गरी विवेकशील साझा पार्टी सुदृढीकरण अभियान को तपसिलबमोजिमको केन्द्रीय समिति घोषणा गरेका छौं ।’
थपिएका केन्द्रीय सदस्यहरुमा प्रविन सुवेदी, सुजन आचार्य, विक्रम परियार, कालुराम तामाङ, महेन्द्र आचार्य, कल्याण अधिकारी, विमला रोक्का, डा. बोधराज पराजुली, सुवास भारती, इ. प्रदीप ढकाल, पवन थापा मगर, प्रतिभा पोखरेल, दीपेन्द्र कार्की, चेतनाथ निरौला लगायत रहेका छन् ।