निर्वाचन आयोगमा नयाँ नेकपा (एमाले) दल दर्ता भएको छ । अहिलेको सत्तारुढ दल नेकपाको आन्तरिक विवादलाई थप तरंगित बनाएको यो दल आयोगमा दर्ता भएको हो ।
नयाँ दर्ता भएको नेकपा (एमाले) को अध्यक्ष झापाकी सन्ध्या तिवारी रहेकी छन् । आयोगमा १ सय ३१औँ नम्बरमा उक्त दल दर्ता भएको हो ।
नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला गत असार १२ गते निर्वाचन आयोगमा यो दल दर्ताका लागि आवेदन परेको थियो । सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा यो दल बनेका नेकपा नेताहरुले आरोप लगाएका थिए ।
दल दर्ताको लागि निवेदन परेको यो दल सत्तारुढ नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशन र सल्लाहमा गठन भई प्रकृया अघि बढाइएको भन्दै सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्ड लगायतका शीर्ष नेताहरुले आरोप लगाउँदै आएका थिए ।
निवेदन परेको झण्डै दुई महिनापछि आयोगले दल दर्ता गरेको हो । नवगठित नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी र महासचिव मनिषकुमार उपाध्याय रहेका छन् । कानुन अनुसार सबै मापदण्ड पुगेकाले दल दर्ता गर्ने निर्णय लिइएको आयोगका एक सदस्यले बताए । यो दल एक सय ३२ औं पार्टी बनेको छ ।