विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेकी छन् ।
बिहीबार एक विज्ञप्तिमार्फत दर्शनाले पौष ८ गतेबाट अर्को निर्णय नलिएसम्म स्वतन्त्र नागरिकको भूमिकामा रहने स्पष्ट गरेकी हुन् ।
‘म आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्य समेत नरहने गरी विवेकशील साझा पार्टीसँगको संलग्नताबाट आफूलाई स्वतन्त्र पार्दछु’, दर्शनाले भनेकी छन्, ‘पुस ८ गतेबाट अन्य कुनै राजनीतिक निर्णय नलिएसम्म एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीतिक रुपमा सक्रिय रहनेछु ।’
उनले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओडेर नेतृत्वले पार्टीमा फोहोर गरिरहेको आरोप लगाएकी छन्
। पार्टीभित्रको फोहोर सफा गर्ने प्रयास गर्दै आएपनि त्यसलाई सफा गर्न नसकिने देखिएको उनको भनाइ छ । ‘म राजनीतिमा सके सफा गर्छु नसके फोहोर गर्दिनँ भनेर प्रवेश गरेकी व्यक्ति हुँ ।
पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संवैधानिक राजतन्त्रको वकालत गर्ने गरी ‘विचारभन्दा माथि देश’को एजेण्डा पार्टीमा लागु गराएपछि साझा विवेकशीलमा विवाद देखिएको हो ।
विवाद बढ्दै जाँदा मिश्र पक्षले संयोजक मिलन पाण्डेलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ भने पाण्डेले पनि समानान्तर समितको घोषणा गरेका छन् ।

