नेपाल कम्युुनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)का कारण सत्तारुढ गठबन्धन नटुट्ने बताएका छन् ।
न्युज एजेन्सी नेपालसँगको एक अन्तर्वातामा प्रचण्डले एमसीसी प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवा पनि एमसीसी सम्झौतामा केही सुधार गर्नुपर्ने पक्षमा रहेको बताएका छन् ।
यसले केही समय लिए पनि एमसीसीकै कारणले गठबन्धन नटुट्ने प्रचण्डको भनाई छ । ‘एमसीसीका कारण गठबन्धन टुट्दैन । टुट्न हुँदैन र टुट्न दिइँदैन’ प्रचण्डले भनेका छन् ।
प्रचण्डले प्रधानमन्त्रीसँग एमसीसीका विषयमा विज्ञहरुसँग छलफल गर्ने विषयमा आफ्नो कुराकानी भएको तर माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनपछि छलफल गर्ने सहमति भएको बताए ।
एमसीसी सम्झौताको आधिकारिक दस्तावेजमा संसदबाट अनुमोदन हुने विषय नभएको तर पछि समावेश गरिएको प्रचण्डको भनाई छ । यसैका कारण आशंका उत्पन्न भएको उनले बताए ।
‘यो विषयमा जहाँनिर त्रुटि भएको छ, जुन जुन प्रावधानले हामीलाई अप्ठेरो पारेको छ, जरुरी पर्दा त्यसलाई संशोधन पनि गर्नुपर्यो, गम्भीर र संवेदनशील विषय भएका कारण राजनीतिक दलहरुबीच अधिकतम सहमति गर्नुपर्यो’ प्रचण्डले भने । प्रचण्डले एमसीसी जबर्जस्ती पारित गर्न खोजेमा अप्ठेरो स्थिति आउने समेत बताएका छन् ।
प्रचण्डले विवादका विषय अध्ययन गर्न गठित कार्यदलले काम गरिरहेका पनि बताए । यस्तै प्रचण्डले नेतृत्वमा बसिरहने आफ्नो चाहना नभएको बताएका छन् ।
माओवादीलाई पनि बुर्जुपा पार्टी बनाउन चाहनेहरुले मात्र आफ्नो विरोध गरेको प्रचण्डको भनाई छ । प्रचण्डले आफू पार्टी नेतृत्व छाड्ने चाहना हुँदाहुँदै बस्नु परिरहेको टिप्पणी गरेका छन् ।
‘व्यक्तिगत रुपले त भन्नुहुन्छ भने मलाई यत्रो बस्नुभन्दा अब रिटायर भएर संस्मरण लेख्न पो राम्रो छ । तर मैले अहिले जुन दस्ताबेज बनाउँदै छु, मलाई विश्वास छ राष्ट्रिय सम्मेलनले त्यसमा गर्व गर्नेछ र नेतृत्वप्रति गर्व गर्नेछ’ प्रचण्डले भने ।