नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जतिसुकै धाक धम्की दिएपनि आागमी निर्वाचनमा कसको हालत के हुन्छ भनेर देखाइदिने चुनौती दिएका छन् ।
शुक्रबार नेकपा मसाल सम्पर्क केन्द्रसँग पार्टी एकता घोषणा कार्यक्रममा अध्यक्ष प्रचण्डले माओवादी ‘आगो’ सँग खेल्दा ओली बालुवाटारबाट बालकोट पुगेको भन्दै अहिलेको धाक धम्की आगामी निर्वाचनबाट देखाइदिने बताए ।
अध्यक्ष प्रचण्डले भने, ‘संसदमा मैले भनेको थिएँ– माओवादी वा क्रान्तिकारी कम्युनिष्टहरुलाई हल्का रुपमा नहेरियोस् । सम्झिनुभएको होला । आगोसँग खेल्ने दुस्साहस नगर्नु उचित हुन्छ ।
के भयो आगोसँग खेल्दा, बालुवाटारबाट बालकोट गयो, छ वटै प्रदेशबाट मुख्यमन्त्री चट भयो । अहिले बडो धाक धम्की लगाएर हिँडेका छन् । त्यो धाक धम्की मात्रै हो ।
आउने निर्वाचनमा देखिनेछ, कस्तो हालत के भयो र कस्को हालत के हुँदैछ । त्यो नेपाली जनताले देखाउनेछन् ।’ उनले अब सबै क्रान्तिकारी कमरेडहरु जनताको घरदैलोमा पुगेर विगतमा भएका त्रुटीहरुलाई सच्याउनुपर्ने पनि बताए ।
‘सबै कमरेडहरुलाई जनताको घरदैलोमा जान, बेपत्ता र घाइतेका परिवारमा गएर भेटघाट गर्नुपर्छ र विगतमा भएको त्रुटी एकपटक सच्याउनुपर्छ । र, समाजवादको नयाँ युगतर्फ अघि बढ्नुपर्छ,’ उनले भने ।
साथै, नेकपा मसाल सम्पर्क केन्द्रसँगको गणितीय मात्र नभई ज्यामितिय हुने प्रचण्डको भनाइ छ । उनका अनुसार माओवादीको संगठन सदस्य ८ लाखबाट यो १० लाखभन्दा बढी बढाइनेछ ।