नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफूबाटै आत्मसमीक्षा सुरु गरेको बताएका छन् ।
शनिबार प्रेस सेन्टर र क्रान्तिकारी पत्रकार संगठनको एकता घोषणा कार्यक्रममा अध्यक्ष दाहालले जनयुद्धदेखि खुला राजनीतिसम्म कहाँ त्रुटी भयो ? भन्ने विषयमा आफूबाटै आत्मसमीक्षा सुुरु गरेको बताएका हुन् ।
भोलि (आइतबार) सुरु हुने पार्टीको राष्ट्रिय सम्मेलनमा पेश गर्ने राजनीतिक प्रतिवेदनमा आफूले आत्मसमीक्षा गरेको अध्यक्ष दाहालको भनाइ छ ।
जनयुद्धदेखि हालसम्म पार्टीले धेरै टुट–फुट व्यहोरेको र यस्तो स्थिति किन आयो ? भन्ने विषयमा मूल नेतृत्वबाट गरिएको आत्मसमीक्षाले फेरि सबैलाई एक ठाउँमा आउने स्थिति बन्ने अध्यक्ष दाहालको भनाइ छ ।
अध्यक्ष दाहालले भनेका छन्, ‘मैले पहिलो आत्मसमीक्षा म बाटै सुरु गर्दैछु राष्ट्रिय सम्मेलनमा । कहाँ त्रुटी भयो र यस्तो स्थिति आयो त ? त्यसको निम्ति नैतिक रुपले म जिम्मेवार हुन्छु नै, प्रमुख नेता हुनुको नाताले ।’
काठमाडौंमा आइतबारबाट माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन सुरु हुँदैछ । उक्त सम्मेलनमा अध्यक्ष दाहालले आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्दैछन् ।
त्यसोत सोही सम्मेलनबाट माओवादी केन्द्रको नयाँ नेतृत्व पनि चयन हुनेछ ।