Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

माओवादी केन्द्रको आठौं महाधिवेशनमा कसले के भने ?

माओवादी केन्द्रको आठौं महाधिवेशनमा कसले के भने ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ११, २०७८ आइतवार • १७:२७:०८ बजे
  • 1.8K
    SHARES
  • माओवादी केन्द्रको आठौं महाधिवेशनमा कसले के भने ?

    संघीयता र समावेशीको एजेन्डालाई सम्बोधन गर्नुपर्छः अनिल झा

    images

    लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झाले संघीयता र समावेशीको एजेन्डालाई सम्बोधन गर्नुपर्ने बताएका छन् ।

    माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले संविधानमा गणतन्त्रको विषय समेटिएको भए पनि जनताले अनुभूति गर्ने गरी संघीयता र समावेशीको एजेन्डा सम्बोधन गर्नुपर्ने बताएका हुन् ।

    यसका लागि मधेस आन्दोलन भए पनि अहिलेसम्म सम्बोधन नभएको भन्दै उनले संघीयता र समावेशीको एजेन्डाका लागि जीवन दाउमा राखेर माओवादी क्रान्तिमा होमिएको भए पनि अहिले त्यसलाई सम्बोधन गराउन चुकेको आरोप लगाए ।

    ‘गणतन्त्र, समावेशी, संघीयताका लागि माओवादी क्रान्तिमा होमियो। हामी शान्तिपूर्ण आन्दोलनमा लाग्यौैँ,’ उनले भने, ‘तर, गणतन्त्र संविधानमा समावेश भए पनि संघीयता र समावेशीबारे उठाइएको एजेन्डा अहिलेसम्म सम्बोधन भएन ।’

    यी माग सम्बोधन गर्ने गरी माओवादी अधिवेशनले निर्णय लिने उनको अपेक्षा छ ।

    दलीय एकता आवश्यकः दुर्गा पौडेल

    राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रतिगमन अन्त्यका लागि विभिन्न दलबीचको एकता आवश्यक रहेको बताएकी छन् ।

    नेकपा माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले प्रतिगमन शक्ति पनि सक्रिय रहेको र यसको अन्त्यका लागि सबै दलहरूबीचको एकता आवश्यक रहेको बताएकी हुन् ।

    ‘अहिले पनि प्रतिगमन शक्ति सक्रिय छ’, उनले भनिन्, ‘हामीहरूबीच मतभेद रहेको भए पनि प्रतिगमन अन्त्यका लागि दलहरूबीचको एकता आवश्यक छ ।’ राष्ट्रियताका लागि दलहरू एकजुट हुनुपर्नेमा उनको जोड छ । राष्ट्रियताको रक्षा र एमसीसीलगायतका विषयमा माओवादीले उचित निर्णय लिने अपेक्षा गरेको उनले बताइन् ।

    गणतन्त्र, संघीयता र समावेशी धरापमा पर्न थाल्योः उपेन्द्र यादव

    जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विभिन्न राजनीतिक उपलब्धीहरू धरापमा पर्न थालेको बताएका छन् ।

    नेकपा माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले गणतन्त्र, संघीयता र समावेशी नै धरापमा पर्न थालेको हो कि भन्ने लाग्न थालेको बताए ।

    राजनीतिक उपलब्धी रक्षाका लागि संविधान संशोधन र परिमार्जन अतिआवश्यक भएको भन्दै उनले अबको सरकारले अघिल्लो सरकारको गल्ती कमजोरी बताएर मात्र नभएर सबैको माग सम्बोधन गर्नुपर्नेमा जोड दिए । संघीयता, समावेशी र गणतन्त्रको विकल्प हुनै नसक्ने भन्दै उनले संसदमा अवरोध गर्नुको कुनै तुक नरहेको बताए ।

    ‘माधवकुमार नेपाल यही हुनुहुन्छ । काठमाडौँमै हुनुहुन्छ’, उनले भने, ‘अब संसदमा अवरोध गरेर केही प्राप्त हुँदैन ।’ माओवादी सशस्त्र युद्ध र यसको जगमा भएको मधेश विद्रोहले गणतन्त्र ल्याएको उनको भनाइ छ । सबै पक्षको माग सम्बोधन गरेर राष्ट्रिय एकता कायम गर्नुपर्ने यादवले बताए ।

    हाम्रो आन्दोलन प्रयोगशालामा सीमित नहुन्ः सिपी मैनाली

    मालेका महासचिव सिपी मैनालीले विभिन्न चरणमा भएको राजनीतिक आन्दोलन प्रयोगशालामा सीमित हुन नहुने बताएका छन् ।

    माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले जनताले व्यवस्था फेरियो, अवस्था फेरिएन भन्ने गरेको भन्दै राजनीतिक आन्दोलनलाई प्रयोगशालामा सीमित गर्न नहुने बताएका हुन् ।

    आफ्नो सम्बोधनका अधिकांश समय माओवादीप्रति जनताले निकै प्रश्न उठाएको र यसको नेतृत्वले जवाफ दिनुपर्ने बताएका उनले घुमाउरो शैलीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनका क्रममा जनतामाझ गरिएको वाचा पूरा नहुनुको जवाफ दिनुपर्ने बताए। महाधिवेशनमा अन्य दलका प्रतिनिधिले बोल्नेक्रम जारी छ । महाधिवेशन १५ पुससम्म चल्ने माओवादीले जानकारी दिएको छ ।

    महाधिवेशनमा एमाले महासचिव पोखरेल सहभागी

    माओवादी केन्द्रको आठौँ अधिवेशनमा सहभागी हुन एमाले महासचिव शंकर पोखरेल प्रज्ञा भवन पुगेका छन् ।

    काठमाडौँको प्रज्ञा भवनमा आइतबारको उद्घाटन सत्रमा महाधिवेशनको सफलताको शुभकामना दिन उनी सहभागी भएका हुन् । आइतबारबाट सुरु भएको महाधिवेशन बिहीबारसम्म चल्ने माओवादीले जनाएको छ ।

    सिपी गजुरेलले गरे पार्टी एकताको प्रस्ताव

    नेकपा क्रान्तिकारी माओवादी नेता सिपी गजुरेलले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको प्रस्ताव गरेका छन् ।

    माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले पार्टी एकताका लागि माओवादी सशस्त्र विद्रोहले तय गरेका एजेन्डा स्थापित गराउनेदेखि एमसीसी खारेज गर्ने निर्णय गर्न माग गरेका छन् ।

    ‘माओवादी जनक्रान्तिले तय गरेका एजेन्डा कार्यान्वयन गर्ने, राष्ट्रघाती एमसीसी खारेज गर्ने निर्णय गर्नुहोस्,’ उनले भने, ‘यी निर्णय भयो भने माओवादी एकताका लागि छलफल गर्ने बाटो खुल्नेछ ।’ अन्तमा माओवादीको महाधिवेशन सफलताको शुभकामना दिँदै उनले पार्टी एकतामा जोड दिए ।

    राप्रपा महामन्त्री कुन्ती शाही बोल्दा सबै किन हाँसे ?

    काठमाडौंको प्रज्ञा भवनमा चलिरहेको महाधिवेशनलाई शुभकामना दिने पहिलो वक्ता बनिन् राप्रपा महामन्त्री कुन्ती शाही । उनले सम्बोधन गर्ने क्रममा सहभागीहरू हाँसे ।

    कारण थियो, अतिथिको नाम र पद सही उच्चारण गर्न नसक्नु । सुरुमा उनले कांग्रेस सभापति भन्नुपर्नेमा अध्यक्ष भनिन् । त्यसपछि नेकपा एमाले भन्नुपर्नेमा नेकपा भनिन् ।

    एमाले महासचिव शंकर पोखरेल भन्नुपर्नेमा उनले नेकपा महासचिव ईश्वर पोखरेल भनेपछि सहभागी हाँसेका हुन् । शाहीले माओवादी केन्द्रको महाधिवेशनको सफलताको शुभकामनासमेत दिइन् ।

    महाधिवेशनले महिलाको अधिकार ल्याउन सफल होस् भनेकी थिइन् ।

  • सम्बन्धित विषय:

  • # नेकपा माओवादी केन्द्र
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology