नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन सुरु भएको छ । माओवादीले महाधिवेशनमार्फत नयाँ ब्रान्डको खोजी गर्ने नीति लिएको हो ।
नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि आठौँ महाविधेशन शुरु भएको छ । २०६४ सालमा देशकै ठूलो पार्टी बनेको माओवादी पटक–पटक विभाजित हुँदा कमजोर हुने अवस्थामा पुगेपछि पार्टीको नयाँ ब्रान्डको विषयमा बहस शुरु भएको छ ।
पार्टी कमजोर हुँदै गएको सन्दर्भमा माओवादीले पार्टीलाई नयाँ विचारको साथ पार्टी निर्माणमा लाग्ने उद्देश्यसहित महाधिवेशनमा सहभागी प्रतिनिधिले नयाँ शिराबाट पार्टीलाई पुनः उठाउन सक्नुपर्नेमा जोड दिएका छन् ।
संविधानसभाबाट संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको माओवादीको भूमिका कमजोर अनुभव भइरहेकाले पार्टीलाई चिनाउन पहिचानको खोजी भएको छ ।
उद्घाटन शत्रमा उपस्थित भएका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि उपेन्द्र यादवसम्मले माओवादीको बलमै संविधानसभाबाट संविधान जारी भएको भन्दै खुलेर प्रशंसा गर्नुभयो ।
माओवादीले उठाएको एजेन्डा संविधानसभा हुँदै संविधानमा लिपिबद्ध भए पनि कार्यान्वयनको तहमा भने माओवादीले आफूले भने अनुसार नेतृत्व गर्न सकिरहेको छैन ।
आइतबार राजधानीको प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरिएको महाधिवेशन स्थल निकै साँघुरो हुँदा उद्घाटन सत्रमा देशभरबाट आएका प्रतिनिधि नै सहभागी हुन पाएनन् ।
साँघुरो ठाउँका कारण प्रतिनिधि नै उद्घाटन सत्रमा सहभागी हुनबाट वञ्चित थिए । प्रतिनिधिलाई सम्झाउन उद्घाटनस्थलमा खटिएका स्वयंसेवकलाई हम्मेहम्मे परेको थियो ।
यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।