नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेसन जारी छ । महाधिवेसनले वैचारिक स्पष्टता र भावी योजनासँगै नयाँ नेतृत्व चयनका लागि महत्वपूर्ण निर्णय गर्नेछ । अहिले बन्दसत्र चलिरहेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट प्रस्तुत प्रतिवेदनमाथि प्रतिनिधिहरु २५ समूहमा विभाजन भइ छलफल गरिसकेका छन् । छलफलबाट प्राप्त निचोड आज प्रस्तुत गर्ने कार्यक्रम छ ।
प्रतिवेदन पारितसँगै विधान संशोधनमा समेत प्रतिनिधिहरुको तर्फबाट समूहगत छलफलबाट प्राप्त सुझाव नै प्रस्तुत गर्ने योजना छ । महाधिवेसनले नयाँ कार्यसमिति चयन गर्नेछ ।
अध्यक्षमा प्रचण्डको विकल्प खोज्ने कुनै चान्स छैन । उनी सर्वसम्मत पुनः अध्यक्ष बन्नेछन् । महाधिवेसनमा अहिले पदाधिकारीका लागि निकै लविङ देखिएका छन् ।
अध्यक्षपछिको महत्वपूर्ण पद महासचिव हत्याउने दाउमा नेताहरु छन् । कतिपयले विभिन्न गुटगत छलफल चलाइरहेका छन् । महाधिवेसनबाट महासचिव नै निर्वाचित वा सर्वसम्मत घोषणा गरेर जानका लागि अर्थमन्त्री समेत रहेका नेता जनार्दन शर्मा लागिपरेका छन् ।
उनले अध्यक्ष प्रचण्डलाई दवाव मात्र दिइरहेका छैनन्, प्रतिनिधिबीच पनि व्यापक प्रचार प्रसार गराइरहेका छन् । महासचिवका दावेदार मानिएका वर्षमान पुन भने उपचारका क्रममा चीनमा छन् ।
स्वास्थ्य अवस्थाका कारण उनी महाधिवेसनमा सहभागी छैनन् । यही मौकामा शर्मा महासचिव हात पार्ने दाउमा रहेको प्रतिनिधिहरुकै विश्लेषण छ ।
अध्यक्ष प्रचण्डसँग महाधिवेसनको समूहगत छलफल चलिरहँदा पनि पदाधिकारीमा आफूहरु पर्नका लागि व्यापक दवाव बढेको छ । स्रोतका अनुसार, नीतिमा भन्दा पनि नेतृत्वमा माओवादी नेताहरुको सक्रियता बढ्दो छ ।
विशेषगरी, पदाधिकारीका आकांक्षीहरुले प्रचण्डमाथि व्यापक दवाव सिर्जना गरिरहेको स्रोत बताउँछ । महाधिवेसनका बीच चर्चा परिचर्चा र गुटगत छलफल अघि बढाइएपनि अहिले पदाधिकारी घोषणा हुने सम्भावना छैन ।
अध्यक्ष प्रचण्ड केन्द्रीय समिति घोषणा गर्ने र पछि पदाधिकारीको टुंगो लगाउने निधोमा पुगेका छन् । महाधिवेसनपछि बस्ने केन्द्रीय समिति बैठकबाट पदाधिकारीको टुंगो लगाउनेबारेमा नेताहरुसँग प्रचण्डले छलफल गरेका छन् ।
अहिले पदाधिकारीको हल्ला गर्नेहरु ‘भित्ते उम्मेदवार’ मात्र भएको प्रतिनिधिहरुबीच निकै चर्चा चल्न थालेको छ ।