नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आठौं महाधिवेशनले सबैको ध्यानाकर्षित गरेको बताएका छन् ।
महाधिवेशनको जारी छैटौँ दिनको बन्दसत्रमा आफ्नो वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रचण्डले माओवादी शक्तिशाली भएर पुरानै अवस्थामा फर्किन्छ कि भन्ने चिन्ता देखिएको बताएका हुन् ।
‘हाम्रो महाधिवेशनप्रति पुरै देशको ध्यान गएको छ । ठूला राजनीतिक पार्टीले पनि हामीलाई हेरेका छन् ।
एजेन्डा ल्याउने र स्थापित गर्ने त माओवादी हो भन्ने छ ।
महाधिवेशन उद्घाटनमै पनि यहाँहरुले सुन्नु भयो,’ उनले भने, ’प्रचण्डले नै हो परिवर्तन ल्याएको, संविधानसभा, गणतन्त्र, समावेशी, समानुपातिक, धर्मनिरपेक्षता, संघीयता सबै सबै ल्याउन भूमिका खेलेको भनेर कांग्रेस सभापतिले नै राख्नुभयो ।’
प्रचण्डले फेरि थपे, ’मैले यसो बाहिर पनि नियाल्दा माओवादी पछाडि फर्किन्छ कि भन्ने चिन्ता गरेजस्तो पाइएको छ । त्यो भनेको माओवादी फेरि अर्को के के एजेन्डा ल्याएर मुलुकमा नेतृत्व लिन खोज्दैछ भनेर ठानेका छन् ।
यो सकारात्मक नै हो ।
माओवादी केन्द्रसँग ६६ करोड सम्पति
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को जम्मा सम्पत्ति ६६ करोड रुपैयाँ रहेको प्रतिवेदन लेखा आयोगले दिएको छ ।
काठमाडौंमा आइतवारदेखि जारी आठौँ महाधिवेशनअन्तर्गत शुक्रबार पेश भएको केन्द्रीय लेखा आयोगको प्रतिवेदनमा उक्त कुरा उल्लेख छ ।
लेखा आयोगको प्रतिवेदन अनुसार माओवादीको कूल स्थिर सम्पति ६६ करोड रहेको छ ।
त्यस्तै चालु दायित्व १ लाख ६६ हजार रहेको छ ।
यो वर्ष ६९ लाख आम्दानी भएको उल्लेख छ ।
लेखा आयोगका अनुसार गत वर्ष ५४ लाख आम्दानी भएको छ ।
आयोगले प्रतिवेदनमा माओवादीलाई ८ लाख ८७ हजार वार्षिक ऋण रहेको पनि उल्लेख गरेको छ ।