एजेन्सी । एअर मरिसस विमानको शौचालयमा नवजात शिशु फालेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।
एअर मरिससका कमचारीले आफ्नो विमानको शौचालयमा फोहोर फाल्ने भाँडोमा नवजात शिशु फोला परेपछि उक्त महिलालाई पक्राउ गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
म्याडग्यास्करकी एउटी २० वर्षीया युवतीलाई बच्चा जन्माएर त्यसरी फालेको आशङ्कामा पक्राउ गरिएको छ। एअर मरिससको उक्त विमान ज्यानुअरी १ मा म्याडाग्यास्करबाट सर सीवुसागुर रामगुलाम अन्तर्राष्ट्रिय विमानस्थलमा आएको थियो।
विमानस्थलका अधिकारीहरूले विमानको नियमित जाँच गर्दा त्यहाँ भर्खर जन्मिएको जीवित शिशु फेला पारेका थिए।उनीहरूले शिशुलाई तत्काल उपचारका लागि सार्वजनिक अस्पताल पुर्याएका थिए।
उक्त बच्चाकी आमा भएको आशङ्कामा पक्राउ परेकी महिलाले सुरुमा बच्चा आफ्नो नभएको दाबी गरेकी थिइन्। तर, चिकित्सकीय परीक्षणमा भने उनले भर्खरै बच्चा जन्माएको पुष्टि भएको जनाइएको छ ।
प्रहरीको निगरानीमा अस्पतालमै राखिएको उनी र शिशु दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ।
दुई वर्षका लागि काम गर्ने अनुमति लिएर मरिसस आइपुगेकी मालागासी महिलासँग अस्पतालबाट निस्किएपछि थप सोधपुछ गरिनेछ ।
उनीविरुद्ध नवजात शिशुलाई बेवारिसे अवस्थामा छाडेको आरोप छ।