Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

वाणिज्य बैंकहरूमा तरलताको समस्या विस्तारै हट्न थाल्यो

वाणिज्य बैंकहरूमा तरलताको समस्या विस्तारै हट्न थाल्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २१, २०७८ बुधवार • ०८:४३:३१ बजे
  • 1.6K
    SHARES
  • वाणिज्य बैंकहरूमा तरलताको समस्या विस्तारै हट्न थाल्यो

    वाणिज्य बैंकहरूमा कर्जा लगानीको तुलनामा निक्षेप संकलन बढ्न थालेपछि बैंकहरूमा तरलताको समस्या विस्तारै हट्न थालेको छ ।

    images

    नेपाल राष्ट्र बैंकले स्थानीय तहमा रहेको कोषलाई पनि निक्षेपमा गणना गर्न पाउने भएपछि अर्को साताबाट बैंकबाट सहज रूपमा कर्जा पाउने सम्भावना बढेको छ ।

    नेपाल बैंकर्स संघको तथ्यांकअनुसार तीन सातासम्म नेपाली मुद्रा बचतमा स्थिर रहेकोमा गत साता २० अर्ब बढी नेपाली मुद्रामा निक्षेप संकलन भएको छ । विदेशी मुद्रामा क्रमिक रूपमा घट्न थालेकाले भने समग्रमा गत साता १४ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । गत साता १४ अर्ब निक्षेप संकलन हुँदा कर्जा ११ अर्ब रुपैयाँ प्रवाह भएको छ ।

    संघको तथ्यांकअनुसार १६ पुससम्ममा बैंकहरूको निक्षेप संकलन ४२ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ । बैंकहरूको निक्षेप संकलन ९ पुससम्म ४२ खर्ब ३५ अर्ब रुपैयाँ थियो ।

    गत साता बैंकहरूको स्वदेशी मुद्रा (लोकल करेन्सी) को निक्षेप २० अर्ब रुपैयाँले बढेकोमा विदेशी मुद्रा (फरेन करेन्सी) को निक्षेप भने ६ अर्ब रुपैयाँले घटेको छ ।

    पुसको दोस्रो साता ४ अर्ब रुपैयाँले घटेको निक्षेप तेस्रो सातासम्म आइपुग्दा १४ अर्ब रुपैयाँले बढेको हो । पुस पहिलो साता बैंकको कर्जा प्रवाह १ अर्ब रुपैयाँ रहेको थियो भने दोस्रो साता ३ अर्ब मात्र प्रवाह गरिएको थियो ।

    दोस्रो साता ४ अर्ब निक्षेप संकलनमा कमी हुँदा ३ अर्ब मात्र कर्जा प्रदान गरिएको थियो । पुसको पहिलो साता स्वदेशी मुद्रामा ४१ खर्ब २८ अर्ब निक्षेप रहेकोमा गत सातासम्ममा ४१ अर्ब ४८ अर्ब पुगेको छ ।

    विदेशी मुद्रा निक्षेप भने १ खर्ब ११ अर्बबाट घटेर दोस्रो साता १ खर्ब ७ अर्बमा सीमित हुँदै तेस्रो सातामा आइपुग्दा १ खर्ब १ अर्बमा सीमित भएको छ । कर्जामा पनि विदेशी मुद्रामा घट्दै गएको छ ।

    पहिलो साता १ खर्ब ४८ अर्ब वैदेशिक मुद्रामा कर्जा रहेकोमा दोस्रो साता १ खर्ब ३५ अर्बमा सीमित हुँदै गत सातासम्म आइपुग्दा १ खर्ब २५ अर्ब मात्र वैदेशिक मुद्रामा कर्जा बाँकी रहेको छ ।

    यो तथ्यांकअनुसार बैंकिङ प्रणालीमा पैसा फर्किन थालेको छ । चरम तरलता अभाव भोगिरहेका बैंकहरूमा पैसा विभिन्न माध्यमबाट आउन थालेपछि कर्जा–निक्षेप अनुपात पनि घट्न थालेको छ । अहिले बैंकको सीडी रेसियो ९१.०२ प्रतिशत रहेको छ । अन्तर बैंक ब्याजदर ४.९८ प्रतिशत रहेको छ ।

    स्थानीय तहको सञ्चित कोषमा रहेको ८० प्रतिशत रकमलाई निक्षेपका रूपमा गणना गर्न पाउने भएपछि वाणिज्य बैंकहरूमा ५० अर्ब रुपैयाँ थपिने भएपछि सीडी रेसियो अझ घट्ने भएको छ ।

    बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अभाव भएपछि सरकारले स्थानीय तहको कोषमा रहेको ८० प्रतिशत निक्षेपलाई तरलता गणना गर्न पाउने व्यवस्था गरेको थियो ।

    सरकारको निर्णयअनुसार सो प्रावधान मंगलबारबाट कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले यो निक्षेपबाट उत्पादनशील क्षेत्रमा मात्र कर्जा लगानी गर्न पाउनेछन् ।

    यसबाट व्यापारिक क्षेत्रका लागि भने लगानी गर्न नपाउने राष्ट्र बैंकले व्यवस्था गरेको छ ।

    यो प्रावधान २०७९ असार मसान्तसम्म मात्र लागू हुने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ । विगतका तीन महिनामा बैंकहरूमा लगानीयोग्य रकमको अभाव हुन थालेपछि बैंकहरूले ब्याज बढाउँदा पनि निक्षेप बढ्न सकेको थिएन ।

    बैंकहरू निक्षेप संकलनमा आक्रामक देखिए पनि परिणाम आउन सकेको थिएन । चालू आर्थिक वर्ष लागेसँगै बैंकहरूमा तरलता अभाव सुरु भएको थियो ।समाचार आजको रााजधानी दैनिकमा पूर्णभक्त दुवालले लेखेका छन ।

  • सम्बन्धित विषय:

  • # विस्तारै हट्न थाल्यो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology