नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पार्टी गतिविधि ठप्प भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पार्टीका ११ जना नेता कार्यकर्तालाई कोरोना संक्रमण भएपछि पार्टीको गतिविधि ठप्प भएको हो । अहिले माओवादीको केन्द्रीय कार्यालय सिल गरिएको छ ।
अध्यक्ष प्रचण्डलाई लक्षण देखिएपछि परीक्षण गर्दा संक्रमण पुष्टि उनको सचवालले जानकारी दिएको छ । प्रचण्ड आठौँ महाधिवेशनमा पुनः अध्यक्षमा निर्वाचित भएपछि उनलाई बधाई दिन पुगेकाहरु अधिकांशमा संक्रमण देखिएको छ । प्रचण्डको सचिवालयले डाक्टरको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको जनाएको हो ।
अध्यक्ष प्रचण्डसँग योबीचमा सम्पर्कमा आएका व्यक्तिहरूलाई सतर्कता अपनाउनसमेत सचिवालयले अनुरोध गरेको छ । यस्तै पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसहित वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटा, वाइसिएल अध्यक्ष सुमन देवकोटा, केन्द्रीय सदस्य सुवोध शेर्पाली, वागमती प्रदेश अध्यक्ष तथा प्रचण्डका पूर्वअंगरक्षक प्रकाश पाण्डे, स्वकीय सचिव रमेश मल्ललाई पनि संक्रमण भएको छ ।
उनीहरु अध्यक्ष प्रचण्डलाई आन्तरिक रुपमा बधाई दिन पुगेका थिए । अखिल क्रान्तिकारीकी अध्यक्ष पन्चा सिंह, नेताहरु हरिबोल गजुरेल, मात्रिका यादव, डोरप्रसाद उपाध्यायलगायतका नेतालाई पनि संक्रमण पुष्टि भइसकेको छ । नेता कार्यकर्तामा धमाधम संक्रमण देखिन थालेपछि महाधिवेशनबाटै फैलिएको आशंका गरिएको छ ।
अध्यक्ष प्रचण्डलाई नै संक्रमण भएपछि उनीसँग भेटघाट तथा नजिक रहेका सबै नेता कार्यकर्तालाई कोरोना परीक्षण गर्न सुझाव दिइएको छ । नेता कार्यकर्तामा कोरोना संक्रमण देखिन थालेपछि पार्टीका सबै गतिविधि ठप्प गरिएको हो । पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि माओवादीको केन्द्रीय समितिको बैठक आगामी माघ ८ गतेसम्मका लागि सारिएको छ ।
गत साता आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको माओवादीले पदाधिकारी चयानका लागि यही पुस २५ गतेका लागि केन्द्रीय समिति बैठक राखेको थियो ।
केही नेता बिरामी परेको तथा पार्टी कार्यालयका केही कर्मचारीमा कोरोना संक्रमण देखिएकाले बैठक स्थगन गरिएको पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकाललले जानकारी दिए । यही पुस १८ गते सम्पन्न माओवादीको महाधिवेशनले २३७ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो ।
यही पुस २५ गते बस्ने केन्द्रीय समिति बैठकबाट माओवादीले पदाधिकारी चयन गर्ने तयारी गरेको थियो । यसअघि यही पुस १९ गते बसेको माओवादीको केन्द्रीय समिति बैठकले पार्टी अध्यक्षमा प्रचण्डलाई निर्विरोध चयन गरेको थियो । माओवादीको विधानमा १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ ।
विधानअनुसार माओवादीले अब एक वरिष्ठ उपाध्यक्षसहित ७ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष निर्वाचित गर्न बाँकी छ ।