राष्ट्रियसभाका सदस्य डा. खिमलाल देवकोटाले स्थानीय तहको निर्वाचन समयमै गर्ने सवालमा कोही पनि विपक्षमा नरहेको स्पष्ट पारेका छन् । तर, देवकोटाले तीनै तहको निर्वाचन एकै चरणमा गर्न सकिने आफ्नो धारणा राखेका छन् ।
राजधानीमा आयोजित साक्षात्कारमा उनले भने–‘अहिले अर्ली–ईलेक्शनको कुरा आएको छ । प्रतिनिधिसभाको र स्थानीय तहको निर्वाचन एकैसाथ गर्न सकिन्छ कि सकिँदैन भन्ने बहस पनि छ । संघीय संसद् विगत लामो समयदेखि अवरुद्ध छ । एमालेले संसद् चल्न दिएको छैन। अपेक्षाअनुसार संघीय संसद्ले गति लिन सकेँ ।
स्थानीय तहको निर्वाचन सँगसँगै प्रतिनिधिसभाको निर्वाचन गर्नेबारे छलफल भएको छ । सबभन्दा पहिलो स्थानीय तहको निर्वाचन हो । निर्वाचन आयोगले चुनावको मिति सिफारिस गरेको छ ।
निर्वाचन आयोगलाई मिति तोक्न दिने कुरामा मेरो आंशिक सहमति छ । आयोगलाई मिति दिनुभन्दा संविधानमै मिति तोक्नुपर्छ ।
चुनावको कुरा गर्दा सबै निर्वाचन २ महिना अगाडि नै किन नगर्ने ? यसो गर्दा राम्रो हुन्छ ।’ उनले संविधानतः स्थानीय तहको निर्वाचनलाई पछि लान नमिल्ने भन्दै गठबन्धन दलले चुनाव नसार्ने पनि जिकिर गरे । उनले तीनै तहको निर्वाचन एकै चरणमा गर्न सकिने आधार सुनाए । देवकोटाले भने–‘अर्ली–ईलेक्शन सम्भव छ ।
तीन तहको निर्वाचन एकै चरणमा गर्न सकिन्छ । तर, यसको लागि संसद्मा संकल्प प्रस्ताव पास गर्न जरुरी छ । अहिलेको प्रधानमन्त्री भनेको संविधानको धारा ७६ को ५ को प्रधानमन्त्री हो । यदि निर्वाचन गर्ने सवालमा सबै दल एक ठाउँमा उभिने हो भने संसद्मा संकल्प प्रस्ताव पेस गर्नुपर्छ, एमाले पनि यसको विरुद्धमा जाँदैन ।
उसले संकल्प प्रस्ताव पास गर्छ । त्यसो हुँदा स्थानीय तह र प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्न सक्छौँ ।’ सरकारले तीनै तहको निर्वाचन एकै चरणमा गर्ने भन्यो भने निर्वाचन आयोगले पनि सक्दिन भन्न नपाउने उनको टिप्पणी छ । देवकोटाले स्थानीय तहलाई भ्याक्युममा राख्न नपाइने सुनाए ।