राष्ट्रिय सभा निर्वाचन अन्तर्गत मधेश प्रदेशमा सत्तारूढ गठबन्धनकी उम्मेदवार उर्मिला अर्याल निर्वाचित भएकी छन्। बुधबार मतदान सकिएसँगै भएको मतगणनामा माओवादी केन्द्रकी अर्यालले ६ हजार १ सय ५६ मतभार पाएकी हुन् ।
उनले लोकतान्त्रिक समाजवादी पार्टीकी रूपाकुमारी यादवलाई पराजित गरेकी हुन् ।
यादवलाई नेकपा एमालेले पनि समर्थन गरेको थियो । अन्य समूहतर्फबाट सत्तारुढ गठबन्धनका मोहम्मद खालिद सिद्दिकी विजयी भएका छन् ।
उनी कुल मतभार ६ हजार ६७८ ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी उस्मान अन्सारीले दुई हजार ७६६ मतभार हासिल गरे । सिद्दिकीले प्रदेशसभातर्फ ७५ र स्थानीय तहतर्फ १७१ मत हासिल गरे ।
प्रदेशसभातर्फ प्रतिमतको ४८ मतभार र स्थानीय तहतर्फ प्रतिमतको १८ मतभार रहने व्यवस्था छ । अन्सारीले भने प्रदेशसभातर्फ २५ र स्थानीय तहतर्फ ८७ मत हासिल गरे ।
निर्वाचन कार्यालयका अनुसार यो समूहतर्फ दुई प्रदेशसभा सदस्यसहित ८ मत बदर भएको छ ।